२४ असार, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यही असार २६ देखि २८ गतेसम्म ‘स्वच्छ चुलो मेला २०१३’ को आयोजना गर्ने भएको छ ।

केन्द्रले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर स्वच्छ ऊर्जालाई व्यावहारिकरुपमा प्रयोग गर्न जनचेतना फैलाउने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सुधारिएको चुलो र त्यसका व्यावसायिक नमुनाहरूको प्रदर्शनी गरिनुको साथै अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय उद्यमीहरुमा व्यावसायिक अवसरको खोजी गरिनेछ ।

यसैगरी सुधारिएको चुलो उद्यमी व्यवसायी र वित्तीय संस्थाबीच लगानीको अवसर वृद्धि हुने वातावरण तयार गर्ने र ‘नेपाल स्वच्छ चुलो सञ्जाल’को समेत घोषणा गरिने कार्यक्रम समेत तय गरिएको छ ।

सरकारले सन् २०१७ सम्ममा देशका सम्पूर्ण घरधुरीमा स्वच्छ उर्जाका प्रविधिहरू पु¥याई घरभित्रको धुवाँमुक्त गर्ने लक्ष्य राखेको छ ।

केन्द्रले हालसम्म मुलुकभरि स्वच्छ उर्जा प्रविधिअन्तर्गत सात लाख २० हजारभन्दा बढी घरपरिवारमा सुधारिएको चुलो जडान गरिसकेको छ भने तीन लाख घरपरिवारमा वायोग्यास र करिब ६०० सौर्य कुकर विकास गरिसकेको छ ।

केन्द्रका अनुसार मुलुकमा अझै करिब ७५ प्रतिशत घरपरिवारले खाना पकाउने इन्धनको रुपमा ठोस जैविक ऊर्जा (दाउरा र गुइँठा) नै प्रयोग गर्ने पाइन्छ ।

हरेक वर्ष करिब सात हजार ५०० भन्दा बढी नागरिकको मृत्यु घरभित्रको वायु प्रदूषणले गर्दा दम, खोकी, फोक्सो र घाँटीको क्यान्सर आदिको कारणले भएको भन्दै केन्द्रले स्वच्छ ऊर्र्र्जाका माध्यमबाट नागरिकको जीउधनको रक्षाका लागि पनि मेलामार्फत जनचेतना बढाउन लागिएको केन्द्रको भनाइ छ ।

सुधारिएको चुलो वायोग्यास र सौर्य चुलोलगायत स्वच्छ उर्र्र्जाका प्रविधिमार्फत ग्रामीण जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन आगामी पाँच वर्षमा देशभरका दाउरा र गोवर गुइँठा बाल्ने घरहरूमा स्वच्छ र किफायती खालको ऊर्जाका प्रविधिहरूको विकास गर्ने लक्ष्य राखिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले जानकारी दिनुभयो ।

सो मेलामा सेमिनार, नमुना प्रदर्शनी र स्वच्छ ऊर्जाको क्षेत्रमा भइरहेको सफल प्रयोगका बारेमा स्थलगत भ्रमणको समेत आयोजना गरिनेछ ।

सो मेलामा २५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वच्छ चुलो उद्यमी व्यवसायीको सहभागिता रहनेछ । केन्द्रका सहायक निर्देशक नवराज ढकालका अनुसार हालसम्म विश्वका करिब २३ विदेशी सङ्घसंस्था मेलामा सहभागी हुनेछन् ।

यसैगरी सरकारले आगामी सन् २०१७ सम्ममा साना तथा मझौला जलविद्युत् आयोजना मार्फत करिब १५ लाख घरधुरीमा विद्युतीय ऊर्जा पुर्याउने लक्ष्य राखिएको छ भने यसैगरी सौर्य ऊर्जामार्फत ६० लाख घरधुरीमा उज्यालो पु¥याउने लक्ष्य राखिएको छ ।

यस्तै सुधारिएको चुलोमार्फत ४७ लाख ५ हजार घरधुरी, वायोग्यासमार्फत एक लाख ३० हजार घरमा सेवा पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै सोही कार्यक्रममार्फत एक हजार ३०० साना तथा मझौला उद्योग स्थापना हुने छन् जसका माध्यमबाट करिब १९ हजारले प्रत्यक्षरुपमा रोजगारी पाउने लक्ष्य राखिएको छ ।

मेलामा घोषणा गरिने सञ्जालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, साना तथा घरेलु उद्योग महासङ्घ, अन्तर्राष्ट्रिय दातृ निकाय र अरु सरोकारवालाको सहभागिता रहने केन्द्रले जानकारी दिएको छ ।

मेलामा सुधारिएको चुलोको सफल डिजाइन तथा नमुना व्यवसाय प्रदर्शनीबाट सो क्षेत्रमा लगानीको अवसर वृद्धि हुने, सरोकारवाला निकायहरूबीच व्यावसायिक साझेदारी वृद्धि तथा विकास गरिने र स्वच्छ चुलो प्रवद्र्धनमा ठूला व्यवसायी, लगानीकर्ता र साझेदार सङ्घसंस्थाको ध्यानाकर्षण गराइने केन्द्रको लक्ष्य रहेको छ ।