१३ फागुन काठमाडौं । सबैभन्दा बढी शंकरदेवमा कम ललितकलामा त्रिविका आंगिक क्याम्पसमध्ये सबैभन्दा बढी शंकरदेव क्याम्पसमा मतदाता रहेका छन् । शंकरदेव क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । क्याम्पस निर्वाचन समितिले ८ हजार २ सय ७ जनाको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । सबैभन्दा कम मतदाता ललितकला क्याम्पसमा एक सय ४५ रहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

महेन्द्ररत्न क्याम्पस, ताहचल
महेन्द्ररत्न क्याम्पस ताहचलमा कुल दुई हजार ९५ मतदाता रहेका छन् । सो क्याम्पसमा कुल १३ वटा संगठन दर्ता भएका छन् । क्याम्पस प्रमुख गोविन्द कटवालका अनुसार भर्ना नभएका कारण धेरै विद्यार्थी मतदाता सूचीमा नरहेको बताए । झन्डै पाँच हजार विद्यार्थी रहे पनि भर्ना हुन नपाएर धेरैको मतदाता सूचीमा नपरेको बताए ।

नर्सिङ क्याम्पस, महाराजगन्ज
नर्सिङ क्याम्पसमा कुल दुई सय ८१ मतदाता रहेका छन् । सो क्याम्पसमा ५ वटा संगठन दर्ता भएका छन् ।

त्रिवि चिकित्सा क्याम्पस, महाराजगन्ज
त्रिवि चिकित्सा क्याम्पस महाराजगन्जमा एक हजार दुई सय ३५ मतदाता रहेका छन् । सो क्याम्पसमा चारवटा संगठन दर्ता भएका छन् । आइओएम स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा विदेशी विद्यार्थीले पनि मतदान गर्न पाउने भएका छन् । मतदान गर्ने विद्यार्थीमा भारतका सय, माल्दिभ्सका  १५ जना र श्रीलंकाका ५ जना रहेका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि मतदाता सूची प्रकाशित भइसकेको छ । सो क्याम्पसमा दुई हजार ८३ मतदाता रहेका छन् भने ५ वटा संगठन दर्ता भएका छन् ।

ललितकला क्याम्पस
ललितकला क्याम्पसमा पनि मतदाता सूची प्रकाशित भएको छ । सो क्याम्पसमा जम्मा एक सय ४५ जना मात्र मतदाता रहेका छन् । सो क्याम्पसमा जम्मा तीनवटा संगठनले मात्र उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियु, नेविसंघ र नेक्राविसंघले संगठन दर्ता गरेका छन् ।

भक्तपुर बहुमुखी क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पसमा कुल एक हजार ६ सय ५६ मतदाताको नामावली सार्वजनिक भएको छ । साथै उक्त क्याम्पसमा ८ वटा संगठन दर्ता भएका छन् ।

सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर
भक्तपुरस्थित सानोठिमी क्याम्पसमा १ हजार ६ सय ४७ विद्यार्थीको नामावली सार्वजनिक भएको छ । साथै उक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि ७ वटा संगठन प्रतिस्पर्धामा उत्रेका छन् ।

पाटन संयुक्त क्याम्पस
पाटन संयुक्त क्याम्पस ललितपुरले ४ हजार ७ सय ५८ मतदाताको नामावली सार्वजनिक गरेको छ । सो क्याम्पसमा १६ वटा संगठन दर्ता भएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पस
थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि मतदाता नामावली सूची प्रकाशित भएको छ । सो क्याम्पसमा १ हजार ९५ मतदाता रहेका छन् भने ७ वटा संगठन दर्ता भएका छन् । सो क्याम्पसको निर्वाचन कमिटीका सदस्य सचिव विक्रम उप्रेतीका अनुसार अघिल्लो स्ववियु निर्वाचनमा भन्दा यसपालिको चुनावमा मतदाता संख्या बढेको बताए ।

विश्वभाषा क्याम्पस
विश्वभाषा क्याम्पसमा बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । क्याम्पस निर्वाचन समितिका अनुसार क्याम्पसमा कुल १ हजार ८ सयको हाराहारीमा मतदाता संख्या रहेका छन् । जसमा १ सय ५८ जना विदेशी विद्यार्थी पनि रहेको निर्वाचन प्रमुख कृष्ण पौडेलले बताए । पौडेलका अनुसार सो क्याम्पसमा विभिन्न ८ वटा संघसंगठन दर्ता भएका छन् ।

रत्नराज्यलक्ष्मी क्याम्पस
रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । सबै संगठनहरूको सहमतिपछि बिहीबार ३ हजार पाँच सय ८१ जनाको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । क्याम्पस निर्वाचन कार्यालयका विनोद मञ्जनका अनुसार चुनावका लागि रत्नराज्यलक्ष्मीमा विभिन्न १३ वटा संगठन दर्ता भएका छन् ।

शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । क्याम्पस निर्वाचन समितिले ८ हजार २ सय ७ जनाको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । निर्वाचन समितिका प्रमुख शिलु बज्राचार्यका अनुसार सो क्याम्पसमा विभिन्न  ८ वटा संगठन दर्ता भएका छन् ।

पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसले तीन हजार ४ सय ३४ जनाको मतदाता नामावलीको सूची प्रकाशन गरेको छ । बिहीबार क्याम्पस निर्वाचन समितिले अन्तिम मतदाताको नामावलीका रूपमा सो सूची प्रकाशित गरेको क्याम्पसका दिलीप मादेनले बताए । क्याम्पस निर्वाचन समितिका अनुसार सो क्याम्पसमा १० वटा संगठनहरू दर्ता भएका छन् ।

सरस्वती बहुमुखी क्याम्पस
सरस्वती क्याम्पसमा ५ सय ३० जना मतदाता रहेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख रामहरि लम्सालका अनुसार सो क्याम्पसमा ५ वटा संगठन दर्ता भएका छन् ।

पब्लिक युथ क्याम्पस
पब्लिक युथ क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगका प्रमुख राजुभाइ मानन्धरका अनुसार क्याम्पसमा कुल २ हजार ८ सय ९५ जना मतदाता रहेका छन् । निर्वाचनका लागि क्याम्पसमा स्वतन्त्रसहित १० संगठन दर्ता भएका छन् ।

नेपाल ल क्याम्पस
क्याम्पसका सदस्यसचिव रवीन्द्रलाल वसीका अनुसार सो क्याम्पसमा ४ हजार ४ सय मतदाताको संख्या रहेको छ । सात संगठनहरूले ३४५ को उपनियम ३ को संशोधनको माग गर्दै गरेको तालाबन्दीका कारण निर्वाचनको अरू प्रक्रिया अगाडि बढ्न सकेको छैन ।