२९ फागुन, काठमाडौँ।

भनिन्छ ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ छविकार मीनरत्न बज्राचार्यले यसै कुरालाई प्रमाणित गर्ने प्रयत्न गर्न खोजेका छन् ।

नेपाल पर्यटन बोर्डमा फागुन २२ गतेदेखि बज्राचार्यले विसं २०४४ देखि २०७१ सम्म खिचेका ७७ तस्बिर प्रदर्शनीमा राखिएका छन् । फागुन ३० गतेसम्म चल्ने प्रदर्शनीमा देखिएका तस्बिरले देशको वास्तविकता बोलेका छन् ।

तस्बिरले अन्तर्राष्ट्रियसँगै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक र नागरिकको जनजीवनलाई समेटेका छन् । बज्राचार्य भन्छन, “मैले देशको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उदेश्यले खिचेका अधिकांश तस्बिर यहाँ छन् ।”

बज्राचार्यले अमेरिकी राष्ट्रपति पदकी प्रत्यासी हिलारी क्लिन्टनको सुन्दर मुहारलाई यहाँ आएका बेला कैद गर्न भ्याएका छन् । नेपाली ढाकाको पछ्यौरा ओढेको हस्ताक्षरसहितको उक्त तस्बिर एकमात्र विदेशी तस्बिर हुनका कारण आकर्षणको केन्द्रविन्दु झै देखिन्छ ।

त्यसो त स्वयाम्भूनाथ क्षेत्रमा घाम र पानीसङ्गै हुँदा लाग्ने इन्द्रेणी, ल्होमान्थाङका थुप्रै गुफा र गुफाबाहिर हजारौँ वर्षअघि कोरिएका लिपिलाई तस्बिरमा देख्दा जो कोही टक्क अडिएर नेपालको मनोरम प्राकृतिक सौन्दर्य हेर्न बाध्य हुन्छ ।

त्यस्तै, स्वयम्भूनाथ, न्यातपोल, जानकी मन्दिर, वसन्तपुर दरबार परिसर, तलेजुभवानी, पाटन दरबार परिसरका तस्बिरले सँस्कृति र सम्पदा जोगाएर राखेको भान हुन्छ । हिमाल, पहाड, तराई–मधेसका लहरै तस्बिरले देशमा राष्ट्रिय एकता छ भन्ने प्रमाण पेस गरेको छ ।

सीमित स्रोतसाधनमा ‘फोटो पत्रकारिता’ गर्नुभएका बज्राचार्य तस्बिर खिच्न बकुल्लाको जस्तो धैर्य, गिद्धको जस्तो आँखा र बाघको जस्तो झम्ट्याई आवश्यक रहने बताउँछन् ।

विसं २०४४ मा रहरै रहरले पेसामा प्रवेश गरेका बज्राचार्यसँग हालसम्म हजारौँ तस्बिर खिचेका अनुभव भए पनि सुरु÷सुरुमा खिचेका केही तस्बिर बिग्रदा उनि खिन्न हुनुपरेको थियो । यही पेसामा लागेर उनले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

पेसामा लागेर सन्तोष व्यक्त गरेका उनले २०४६ सालको जनआन्दोलनमा थुप्रै फोटो खिचेका छन् भने नेपाली राजनीतिका सर्वोच्च कमाण्डर गणेशमान सिंहको फोटोग्राफरसमेत भए ।

बज्राचार्यको यो स्वदेशमा भएको चौँथो एकल तस्बिर प्रदर्शनी हो । यसअघि फागुन २५ सम्ममात्र चल्ने भनिएको प्रदर्शनीको समय दर्शकको अनुरोधमा पाँच दिन थप गरिएको आयोजकको भनाइ छ । रासस