२३ साउन, एजेन्सी । विषहरी पुजाको मेला र नाच हेर्न हजुरआमासँग गएकी १२ वर्षीया बालिकाको शव निर्वस्त्र भेटिएको छ । सोमबार राति मेला हेर्न गएकी प्रियाको शव मंगलबार मेलास्थल भन्दा ५० मिटर टाढा भेटिएको हो । यो घटना भारतको बिहारस्थित अररिया जिल्लाको हो ।

सानैदेखि मामाघर बस्दै आएकी प्रिया मेला हेर्न गएको केहीबेरमै हराएको हजुरआमाले बताइन् । रातभर खोजी गरिएता पनि उनको अवस्थाबारे जानकारी आउन सकेको थिएन । बिहान प्रहरीको सक्रियतामा खोजी गर्दा कुकुरले बालिकाको शव पत्ता लगाएको हो ।

प्रियाको शव निर्वस्त्र र एकदमै खराब स्थितिमा भेटिएकोले सामुहिक बलात्कारपछि हत्या गरिएको स्थानीय प्रहरीले जनाएको छ । घटनास्थलमा छुटेको चप्पलको आधारमा एक युवकलाई पक्राउ गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।