६ भदौ, भक्तपुर ।

भक्तपुरको हनुमन्ते खोलाले आज साँझ १० वर्षीय एक बालकलाई बगाएको छ ।

भक्तपुरको बङ्शगोपालबाट बाराही हुँदै सूर्यविनायक जाने सडकमा रहेको हनुमन्ते खोला किनारामा खेल्दै गरेको भक्तपुर नगरपालिका–१६ बङ्शगोपालका भानुभक्त शिवाचार्यको १० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको हो ।

खोलाको बाढी बढेर सडक किनारासम्म आइपुगेको र खेल्दै गरेको बच्चा लडेर खोलामा खस्दा बगाएको अर्को बालकले बताएपछि घटनाका बारेमा परिवारले थाहा पाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिए ।

बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको उनले जानकारी दिए ।