२६ भदौ, जनकपुर ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारका लागि संघर्षको लडाई जारी रहने भन्दै आगामी स्थानीय तह निर्वाचनलाई आफ्नो पार्टी प्रतिष्पर्धा होइन संघर्षको रुपमा लिएको बताएका छन् ।

चुनाव प्रचारको लागि जनकपुर उपमहानगरपालिका सहित जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको घर दैलो कार्यक्रमका क्रममा अध्यक्ष यादवले मधेशी, आदिवासी, जनजाति, शिल्पी, मुस्लिम, पिछडिएका वर्गले संविधानमा पहिचान सहितको सम्पूर्ण अधिकार नपाएसम्म फोरम नेपालको संघर्षको लडाई जारी रहने बताए ।

‘अहिलेपनि हामी संघर्षमै छौ, यादवले भने, ‘आगामी स्थानीय तह निर्वाचनलाई हाम्रो पार्टीले संघर्षकै रुपमा लिएको छ । आन्दोलनको विभिन्न चरण मध्ये बाइलेट पनि एउटा पनि संघर्ष नै हो ।’

अध्यक्ष यादवले आफूहरूले निर्वाचनमा भाग लिने निर्णय गर्दा आफूहरूलाई मधेश विरोधी र गद्दार भन्नेहरू नै अहिले लुरूलुरू निर्वाचनमा आएकोले गद्दार को हो भन्ने कुरा मधेशी जनता माझ प्रष्ट भइसकेको बताए ।

उनले भने, ‘हिजो निर्वाचनमा भाग लिने निर्णय गर्दा मलाई गद्दार भन्ने पार्टी र तिनका नेताहरू अहिले मेरै बाटोमा हिँडिरहेका छन ।’ उनले आफूलाई गद्दार भन्नेहरू नै गद्दार भएको ठोकुवा गरे ।