३० साउन, काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ महंगो भएको हो ।

बुधबार ७० हजार ३ सय रुपैयाँ कारोबार भएको छापावाल सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । साउन लागेयता लगातार उकालो लागेको सुनको मूल्य मंगलबारको तुलनामा बुधबार तोलामा ७ सय रुपैयाँ घटेको थियो । बिहीबार चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ८ सय ४० रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिका र चीनबीचको ब्यापार युद्ध र अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएका कारण नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको हो । सुनको मूल्य आकाशिएपपछि अहिले सुनचाँदी पसलमा किन्ने भन्दा बेच्नेको भीड लाग्ने गरेको छ ।