बोमलाल गिरी
नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको पहलमा नेपाल आयल निगमले साझा पेट्रोल पम्प टेकुबाट केही समयदेखि हरेक शुक्रबार पत्रकारका लागि पेट्रोल वितरण गर्दै आएको छ । जो निक्कै खट्नु पर्ने पत्रकारका लागि खुशीको कुरा हो । तर पाँच लिटर पेट्रोल उपलब्ध गराउने भनिए पनि कर्मचारीको सनकका भरमा कसैलाई पाँच र कसैलाई तीन लिटर उपलब्ध गराइन्छ ।

petrol pump at night

धेरैलाई लागेको थियो त्यही क्रममा गत शुक्रवार पनि पेट्रोल वितरण गरिन्छ । तर अघिल्लो दिन पत्रकारलाई नदिने भनेर सूचना निकालियो जसले धेरैलाई निरास बनाएका थियो । अर्को बिहान दिने भन्ने सूचना आयो । खवर यत्रतत्र फैलियो । पेट्रोल नदिने भन्ने सूचना थाहा नपाउनेहरु बिहान ५ बजे नै पम्पमा लाइन बस्न पुगिसकेका थिए । सहकर्मी नरेन्द्र साप्कोटाले पनि ५ बजे आफू अफिस पुगेर भाईलाई बाइक दिई लाइनमा उभ्याउन पठाएका थिए । निरास भएर बसेका उनीहरुलाई बिहान अवेर दिने भन्ने सूचनाले खुशीको सञ्चार नगराउने कुरै भएन ।

१२ बजेदेखि पेट्रोल वितरण गर्ने भनिएकाले त्यतिबेलासम्म ४ सय मोटरसाइकल लाइनमा बसीसकेका थिए । २ बजेसम्ममा बाइकको संख्या ५ सय पुग्यो । अनियमितता नहोस् र सहज रुपमा सबैले समान पेट्रोल पाउन भन्ने उद्देश्यले पत्रकारहरुकै पहलमा लाइनलाई निक्कै व्यवस्थित गर्ने प्रयास गरिएको थियो ।

मोटरसाइकलको नम्बर कापिमा टिपिएको थियो । त्यही अनुसारको सिरियल नम्बर बाइकको लुकिङ ग्लासमा लेखिएको थियो । जुन कापिमा लेखिएको लिष्ट पेट्रोल पम्पलाई दिएपछि त्यसैका आधारमा वितरण प्रकृया निक्कै सहज भएको थियो । यसले ढिलो आएर बीचमा हुने घुसपैठलाई निरुत्साहित गरेको थियो ।

१२ बजे देखि शुरु भएको वितरण ७ बजेसम्म आइपुग्दा झण्डै ३ सयले मात्र तेल पाए र एक्कासी पेट्रोल सकियो भन्दै पम्प बन्द गरियो । बाँकी २ सय निरास भएर फर्कन पर्यो। कसैकसैको घरसम्म पुग्ने अवस्था नभएकाले डोर्याउँदै बाटो लागेको पनि देखियो । केही महिला पत्रकार भन्दै थिए, ‘आधा लिटर भएपनि दिनुस् । घरमा बच्चा विरामी छ । घरम्म पुग्ने तेल पनि छैन । डोर्याएर घर पुग्नै सकिन्न ।’ तर यो बेदना कसैले सुनेन ।

२ बजे नै कतिको लाइन छ र कतिका हिसावले दिँदा कतिलाई उपलब्ध गराउन सकिन्छ भनेर सामान्य जोड घटाउ गरेकोले पनि मिलाउन सक्ने हिसाव थियो । तर सबैलाई ७ बजेसम्मै लाइनमा राखियो । सबै आशावादी थिए पेट्रोल पाउनेमा ।

त्यति मात्र होइन वितरण गर्नै लाग्दा एक ट्याङ्कर पेट्रोल केहीबेर अघि मात्र पम्पमा खन्याइएको थियो । र पनि नपाउँदा लाइनमा बसेकाहरुलाई थप आक्रोशित बनाएको थियो । त्यतिकैमा निगमका कर्मचारीले एउटा जुक्ति निकाले । सूचना विभागबाट उपलब्ध पासका आधारमा पत्रकारलाई पम्पमा छिराइए पनि पछि पम्पका सबै ढोका खोलियो र जथाभावि बाटोमा हिडिरहेका सबैलाई भित्र छिराइयो । कृतिम रुपमा होहल्ला र अस्तव्यस्तता निगम र पम्पकै कर्मचारी र प्रहरीबाट श्रृजना गराइयो र सहज रुपमा तेल नपाउने वातावरण बनाइयो ।

अनि प्रहरी लगाएर सबैलाई त्यहाँबाट धपाइयो । ‘आफ्नो सन्तानको माया आमालाई मात्र हुन्छ’ भनेजस्तै बाटोमा हिड्दा हिड्दै मौका पाएर पम्पमा छिरेकाहरु नपाइनेभो भन्दै बाहिरिए । आफ्नो पालो आउनै लागेकाहरु अझै पनि पाइन्छ कि भन्ने आशमा थिए । तर पाएनन् । अन्त्यमा केहीले अर्को शुक्रबार पाउने भन्दै फेरी नाम टिपाएर र घर फर्के । त्यति गर्दा रातीको साढे ८ बजिसकेको थियो ।

petrol pump at night

तर मैले सुनेको थिए त्यहाँबाट रातीराती आफ्ना मान्छेलाई पेट्रोल वितरण गरिन्छ । त्यसैले पत्रकार निमेष बन्जाडे, टेनिस रोका र मैले अवेरसम्म पम्पमा बस्ने गर्ने निर्णय गर्यौं । १५-२० वटा बाइक पम्प भित्रै थिए । जव ९ बज्यो चुल्ठेमुन्द्रे र आसेपासेहरुका बाइक भित्र तिरको चोर बाटोबाट ताँती लाएर पम्मभित्र छिरे । साढे ९ बजेसम्म ५०-६० वटा बाइक पुगिसकेका थिए । पौने १० बजेदेखि धमाधम सबैलाई फूल ट्याङ्की पेट्रोल वितरणको काम शुरु भयो ।

साथी टेनिस रोका बाहिर गेटबाटै फोटो खिच्न थाले । मैले अनुगमनको जिम्मा लिएको वाणिज्य विभागलाई फोन गर्न थाले । सबैभन्दा पहिले विभागका निर्देशक हरिनारायण बेलवासेलाई फोन गरे । उनको मोवाइल स्वीच अफ थियो । अनि मैले तत्कालै विभागका महानिर्देशक शम्भु कोइरालालाई फोन गरेर त्यहाँ भइरहेको अनियमितताका बारेमा यथार्थ जानकारी गराएँ ।

उनले भने, ‘त्यतो त नहुनुपर्ने । त्यहाँ त विभागका प्रतिनिधि र प्रहरी पनि हुनु पर्ने ।’
सायद नियमका कर्मचारीको सल्लाहले नै हुनुपर्छ पेट्रोल वितरण शुरु गर्नु अघि नै प्रहरी त्यहाँबाट हिडिसकेको थियो ।

‘यदि विभागका कर्मचारीको उपस्थितीमा पम्पका सबै गेट बन्द गरेर रातीको पौने १० बजे यसरी पेट्रोल वितरण गरिएको हो भने त्यो झन ठूलो अनियमितता हो ।’ मैले भने, अनुगमनको जिम्मा लिएको वाणिज्य विभागको प्रमुखका नाताले यसप्रति तपाईको भनाई के छ र अव कस्तो एक्सन लिनुहुन्छ ?

मेरो प्रश्नमा महानिर्देशक कोइरालाले भने, ‘यो सिधै अनियमित काम हो । म तत्काल फोन गरेर त्यो काम रोक्न निर्देशन दिन्छु ।’

पम्पको गेटबाटै फ्ल्यास सहितको फोटो खिचिरहेकाले पम्पवालाको सातो गइसकेको रहेछ । त्यसमाथि वाणिज्य विभागबाटै फोन आएपछि तेल बाँड्नेका होस उडिसकेको थियो । त्यसैले मूल गेट नखोली जुन चोरबाटोबाट आसेपासे र चुल्ठेमुन्दे्रलाई पत्रकारको कोटाको पेट्रोल वितरण गर्ने योजना बनाइएको थियो, केहीलाई वितरण गर्न भ्याए पनि अरु धेरैलाई हाम्रो कोटाको तेल वितरण गर्न रोक्न सफल भएकोमा १० घण्टा लाइन बसेर ५ लिटर पेट्रोल हाल्न नपाए पनि पेट्रोल हालेभन्दा बढी खुशी भएर हामी आफ्नो बाटो लाग्यौं । कोठामा आइ पुग्दा रातीको साढे १० बजेको रहेछ ।