१४ साउन । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ ।

पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३/७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा ११८ को फस्र्योट भएको र १२ वटाको चालू आव २०७४/७५ मा जिम्मेवारी सरेको छ ।

अघिल्लो आव २०७२/७३ मा ८० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएको स्रेस्तेदार राजु ढुंगानाले जानकारी दिए । सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एकार्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु-याएको हो ।

सानै उमेरमा विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा छुट्टिने समस्या बढेको छ । अभिभावकले सम्बन्धविच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोविज्ञानमा नराम्रो असर परेको छ । बालविवाहको न्यूनीकरण, परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शंका गर्ने बानी हटाउन जरुरी भएको कानुन व्यवसायी धु्रवराज शर्माले बताए ।

सानो उमेरमै अपरिपक्व अवस्थामा विवाह गर्नेहरु पारिवारिक, आर्थिक र सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने तथा वैदेशिक रोजगारीका कारण श्रीमान्श्रीमती लामो समय टाढिँदा एकार्कामा अविश्वास सिर्जना हुँदा सम्बन्धविच्छेद बढेको पाइएको छ । रासस