१३ कात्तिक, काठमाडौं ।

चीनले अनुदानमा दिन लागेको इन्धन लिन नेपाल आयल निगमले आज १२ वटा ट्याङ्कर रसुवा पठाएको छ ।

१२ हजार लिटर क्षमताका १२ वटा ट्याङ्कर चीनको केरुङ नाका पठाइएको निगमले जानकारी दिएको छ ।

रसुवा पुगेका ट्याङ्कर शुक्रबार टिमुरेमा राखिने र शनिबार बिहान चीनको केरुङबाट तेल भरेर काठमाडौं फर्किने बताइएको छ । चीनले भोलि १ सय टन अर्थात १ लाख ४४ हजार लिटर इन्धन नेपाललाई हस्तान्तरण गर्नेछ ।

China petrol tanker

शनिबार चीनका लागि नेपाली राजदूत महेश मास्के, ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्याल र चिनियाँ राजदूतले शनिबार सीमा मितेरी पुलमा तेल हस्तान्तरण गर्ने तयारी छ ।

चीनले दिएको पेट्रोलियम पदार्थ थानकोटस्थित भण्डारण कक्षमा भण्डारण गरेपछि मात्र वितरण गर्ने निगमको तयारी छ ।

चीनले अनुदानमा दिएको इन्धन भारतबाट आउने भन्दा गुणस्तरीय मानिने युरो ४ गुणस्तरको हो । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि चीनले १३ लाख लिटर पेट्रोल अनुदान दिने घोषणा गरेको थियो ।

यसैबीच विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् ।

जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले इन्धन आपूर्ति अझै सहज नभएको बताए ।