७ कात्तिक, धरान । धरान उपमहानगरपालीकामा रहेको इलाका प्रशासन कार्यालयका तीन जना कर्मचारीले सेवाग्राहीसंग घुस लिदा लिदै पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसंग नागरिकताको मिति सच्याइ दिए वापत नगद २० हजार रकम घुस लिए लगत्तै सुराकीको आधार उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

२० हजार घुस रकम सहित पक्राउ पर्नेमा नासु हर्कराज राई, युवराज पोखरेल र मोहन सुबेदी रहेका छन् । उनीहरुलाई अख्तियारका डिएसपी मुकुन्द रिजालको नेतृत्व टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना नासुहरुले नागरिकताको मिति सच्याउन आएका सुनसरी बराहा नगरपालीकाका प्रकास भट्टराईसंग २० हजार रकम दिएमात्र नागरिताको जन्म मिति सच्याईदिने भन्दै रकम असुल गरेका थिए । भट्टराईसंग लिएको २० हजार रकमको बार्गेनिङ सुरुमा राईले गरेका थिए । उक्त रकम लिनसाथ राईले पोखरेल र सुबेदीले रकम लुकाउन खोज्ना साथ अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी रिजालले बताएका छन् ।

पक्राउ परेका तीनै जना विरुद्ध भष्ट्रचार गरेको अभियोगमा मुद्धा दर्ता गरी कार्वाही अगाडि बढाउने पनि रिजालले बताएका छन् । पक्राउ परेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । उनीहरुलाई मंगलवार अख्तियारको केन्द्रिय कार्यालयमा हाजिर गराई विशेष अदालतमा मुद्धा दर्ता गर्ने बताइएको छ ।