२६ असार, दमक । विषालु सर्पको डसाइबाट पीडित झापा, बैगुन्धुराकी सात वर्षीया एक बालिका ३१ घन्टा लामो उपचारपछि मृत्युको मुखबाट बाँचेकी छिन् ।

सर्पले डसेको दुई घन्टापछि मन्जु ऋषिदेवलाई दमकको सर्प डसाइ उपचार केन्द्रमा ल्याइएको थियो ।

ऋषिदेव परिवारले गाउँघरमै झारफुक गरे तर बिरामी निको हुने लक्षण नदेखेपछि गाउँलेले ती बालिकालाई छिटो छरितो उपचार केन्द्रमा ल्याएकाले उनी जोगिएकी हुन् ।

ऋषिदेव जस्ता ग्रामीण क्षेत्रका अशिक्षित समुदायमा अझै पनि सर्प डसाइको उपचार झारफुकबाट होइन, अस्पतालमा गएर गर्नुपर्छ भन्ने हेक्का हुन सकेको छैन । ऋषिदेवका अभिभावकले भने– “छोरीलाई गोमनले डसेपछि गाउँघरमा झारफुक गर्यौँ तर झारफुकबाट केही भएन र अस्पताल ल्यायौं ।”

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमक मातहतको सर्प डसाइ उपचार केन्द्रका प्राविधिक देवीप्रसाद भण्डारीले भन्नुभयो, “बच्चाको अवस्था यहाँ ल्याउँदै अत्यन्त नाजुक थियो, भेन्टिलेटरको सहयोगमा उनले पुनर्जीवन पाइन् ।”

विसं २०५५ साल जेठ २६ गतेदेखि सुरु भएको यो केन्द्र सर्प डसाइको उपचारका लागि भरपर्दो मानिन्छ । यहाँ झापा, मोरङ, इलामसहित भारतका समेत बिरामीहरु आउने गरेका छन् । दमक–१२ मा अवस्थित केन्द्रमा २४ सै घन्टा एक डाक्टरसहित सात जना प्राविधिकले सेवा पुर्याउँदै आएका छन् ।

चालु आर्थिक वर्षको सोमबारसम्म एक हजार ९८ जना बिरामीले केन्द्रबाट सेवा पाएका केन्द्रका इन्चार्जसमेत रहेका प्राविधिक भण्डारीले जानकारी दिए ।

अहिले दैनिक ६/७ जना सर्पले डसेका बिरामी उपचारका लागि केन्द्रमा आउने गरेका छन् ।

उपचारमा भेन्टिलेटर

सर्प डसाइबाट श्वासप्रश्वासमा हुने आकस्मिक समस्या समाधान गर्न केन्द्रले भेन्टिलेटरसहितको उपचार सेवा थपेको छ ।

आम्दा अस्पतालको प्राथमिक उपचार सेवा परियोजनाले केन्द्रलाई भेन्टिलेटर मेसिन निःशुल्क उपलब्ध गराएपछि केन्द्रले दुई दिन अघिदेखि भेन्टिलेटरसहितको उपचार थालेको हो ।

केन्द्रले यस वर्षदेखि बिरामीको उपचार सेवामा लिँदै आएको शुल्कमा पनि वृद्धि गरेको छ । “स्थापनाकालदेखि रु एक हजार ५०० सेवा शुल्क लिइने गरिएको थियो, यो वर्षदेखि दुई हजार पुर्याएका छौँ’, रेडक्रसका जिल्ला अध्यक्ष प्रकाश बुढाथोकीले भन्नुभयो ।

उनले दिएको जानकारी अनुसार आगामी साउनको दोस्रो साताभित्रमा रेडक्रसले सर्प डसाइ उपचार सेवा र रक्त सञ्चार केन्द्रलाई निर्माणाधीन भवनमा स्थानान्तरण गर्ने तयारी गरेको छ ।

रेडक्रसको आफ्नै स्रोत साधनबाट करिब अढाइ करोड रुपैयाँको लागतमा निर्मित सो भवनको ९० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । रासस