६ साउन, सोलुखुम्बु । आर्थिक वर्ष २०६९/०७० मा ३६ हजार पाँच सय ५० जना पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज पुगेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी पर्यटक बेलायतबाट आएका छन् । यसअघि आर्थिक वर्ष २०६७/०६८ मा ३३ हजार तीन सय ९० जना तथा २०६८/६९ मा ३६ हजार तीन सय १५ पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका थिए ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६९/०७० मा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयलाई नौ करोड ११ लाख ४६ हजार एक सय ७८ रुपैयाँ ५७ पैसा राजस्व प्राप्त भएको छ । जसमा प्रवेश शुल्कबापत आठ करोड ६५ लाख ८७ हजार ६५६ रुपैयाँ ३० पैसा, काठको पुर्जावापत तीन लाख २३ हजार ७२ रुपैयाँ २२ पैसा, ढुङ्गा पुर्जाबाट तीन लाख १२ हजार पाँच सय ८४ रुपैयाँ ७३ पैसा, लज भाडाबाट १८ लाख २९ हजार चार सय पाँच रुपैयाँ २५ पैसा, जरिवानाबाट पाँच हजार पाँच सय, टेन्डर फारम दस्तुरबाट १५ हजार, सगरमाथा क्षेत्रमा हेलिकोप्टर अवतरण गरेको शुल्क वापत १५ लाख ४४ हजार, पर्यटक भरिया शुल्कबाट पाँच लाख २८ हजार नौ सय ६० रुपैयाँ गरी कुल नौ करोड ११ लाख ४६ हजार एक सय ७८ रुपैयाँ ५७ राजस्व प्राप्त भएको हो ।

अहिले सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क उठाउने गरेको छ भने सार्क क्षेत्रबाट आएका पर्यटकका लागि प्रतिव्यक्ति एक हजार पाँच सयका दरले शुल्क उठाउने गरेको छ । रासस