८ माघ, एजेन्सी । कुनैपनि व्यक्ति हराएको र उसको भेट्टाउने आशा पनि सकिएको ४८ वर्षपछि भेट भएमा यो भन्दा चमत्कार अरु के हुन्छ ? सुन्दा एक चलचित्रको कहानीजस्तै लाग्ने यो घटना बांग्लादेशको हो । व्यापारिक सिलसिलामा घर छोडेर निस्केका एक व्यक्ति ४८ वर्षपछि भेटिएका छन्, त्यो पनि फेसबुकमार्फत ।

बांग्लादेश स्वतन्त्र भइसकेपछि हबीबुर्रहमान सिलहटले बजग्राममा सिमेन्टको कारोबार गर्न थाले । आफ्नो कारोबारको सिलसिलामा उनी ३० वर्षको उमेरमा घर छोडे । त्यसपछि उनी वर्षौंसम्म घर फर्केनन् । घरपरिवारले उनको खोजी गरेता पनि उनको विषयमा केही पनि जानकारी पाउन सकिएन । उनको खोजीमा उनको एक छोराको मृत्यु समेत भइसकेको थियो ।

४८ वर्षपछि अमेरिकामा बस्ने हबीबुर्रहमानका छोराकी पत्नीले फेसबुकमा एक भिडियो हेरिरहेकी थिइन् । भिडियोमा एक वृद्धको लागि आर्थिक सहयोग मागिएको थियो । उनलाई उक्त व्यक्ति आफ्नो ससुरा झैँ लागेर पतिलाई भिडियोको बारेमा जानकारी गराइन् । अब के चाहियो र ?

हबीबुर्रहमानका जेठो छोराले उनलाई फ्याट्टै चिनिहाले र सिलहटमा आफ्नो भाइहरुलाई विरामी भएका बुवाको विषयमा बुझ्न लगाए । पछिल्लो २५ वर्षदेखि त्यहाँको एक स्थानीय बजारमा हबीबुर्रहमानको रेखदेख एक महिलाले गर्दै आएकी थिइन् । बुवा भेटेपछि छोराले उनको राम्रो उपचारको लागि अर्कै अस्पताला सारे ।