५ फागुन, काठमाडौं । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ ।

आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए ।

loksewa

आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उनले जानकारी गराए ।

उनका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ ।