३ फागुन, काठमाडौं । सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिए ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उनले जानकारी दिए । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ । एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन शय्या रहने गरी कोठाको व्यवस्थापन गरिएको छ ।

शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । सबै व्यवस्थापनका लागि सरकारको करिब छ करोड रुपैयाँ खर्च हुने भएको छ ।