२२ मंसिर, दुसाम्बे (ताजकिस्तान)।

मध्य एसियाली मुलुक ताजकिस्तानमा सोमबार गएको ७.२ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिको मृत्यु भएको छ । सरकारद्धारा सञ्चालित एक टेलिभिजन च्यानलले दिएको जानकारीअनुसार सो भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएको एएफपीले बताएको छ।

भूकम्पको शक्तिशाली धक्का ग्रीनविच समयानुसार बिहान ७ बजेर ५० मिनेटको समयमा महसूस गरिएको बताइएको छ । जमिनको सतहभन्दा २८ किलोमिटर गहिराईबाट गएको उक्त भूकम्पको केन्द्रविन्दु दुसाम्बेबाट ३४५ किलोमिटर पूर्वमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

सरकारी अधिकारीहरुले सोमबार साँझसम्म यस भूकम्पमा कुनै हताहती नभएको जानकारी दिएका थिए । भूकम्पको धक्का छिमेकी राष्ट्र किर्गिस्तान र काजाकिस्तानको उत्तरी भागमा पनि महसूस गरिएको थियो । उक्त शक्तिशाली भूकम्पको धक्का आफगानिस्तान, पाकिस्तान र भारतका केही भूभागमासमेत महसूस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।