१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित विशेष समारोहमा उनको ६९औँ जन्मोत्सवको सुअवसर पारेर राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे ।

प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै छन् । उक्त समारोहमा ९० वर्षीय उनका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिए । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेखेको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गरेका छन् ।

आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गरेको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सारेको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन् ।

पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताए । उनले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भने, ‘अटोक्रेसी टु डेमोक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।’

उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराए । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरु अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भने । उनले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताए । रासस