(नारायण न्यौपाने)

६ असार, काठमाडौँ ।

सधैँभरि प्रशासनिक कार्यव्यस्ततामा रहने मुख्य सचिव लीलामणि पौड््याल आज बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा सबेरै योगाभ्यास प्रदर्शन गरी सबैलाई चकित पारे ।


Lilamani Paudyal Mayurasan

पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रम तथा राष्ट्रिय योग दिवसको प्रतीकचिह्न घोषणासभामा उनले योगाभ्यासको अत्यन्त कठिन मयूर आसन लामो समयसम्म गरेर देखाएका थिए । समारोहमा उपस्थित सबैलाई सूर्य नमस्कारलगायत विभिन्न खाले योगाभ्यास गराइएको थियो ।

संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सङ्घको ६९ औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा यसको उद्गमथलो नेपाल र भारत भएको बारे बताउँदै योग दिवस मनाउने प्रस्तावलाई विश्वका १७० भन्दा बढी मुलुकले तत्कालै समर्थन जनाएका थिए ।

हिमालय पर्वत क्षेत्र सबैभन्दा पुरानो सभ्यतास्थल मानिने र कैलाश निवासी शिवबाट योग यही भूमिबाट प्रादुर्भाव भएको मानिन्छ । योगका सबैभन्दा बढी अभ्यासीमा नेपालका गोरखनाथलाई लिइन्छ । तपस्या र ध्यानको सबैभन्दा पवित्र पावन भूमि नेपाल हो भन्ने गरिँदै आएको छ ।

Lilamani Paudyal Mayurasan 1

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘शान्ति र सद्भावका लागि योग’ भन्ने रहेको छ । आजको दिन विश्वका करोडौँ मानिस योगको आह्वान गर्दै उपासनामा सलंग्न रहने अपेक्षा गरिएको छ ।

अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पुर्‍याउँछ । योगको साधना र फैलावट धेरै ठूलो भएकाले सबै क्षेत्रमा योगलाई समेट्नुपर्ने चुनौतीलाई सामना गर्न आयुर्वेद विभागअन्तर्गत एउटा स्वतन्त्र संस्था स्थापना गरेर योगका बारेमा शोध, अनुसन्धान र तालिम प्रदान गर्ने व्यवस्थाका लागि माग हुँदै आएको छ ।

खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक राजु अधिकारी बताउनुहुन्छ ।

योगाभ्यासले औषधिबिना रोग निको पार्ने काम गर्छ । मनलाई नियन्त्रणमा राखेर अघि बढ्ने सबैभन्दा अचूक र प्रभावकारी साधनाका रुपमा योगलाई लिन्छ । खास गरेर योगाभ्यास बिहानको समयमा गर्न उपयुक्त हुने भए पनि फुर्सदको समय निकालेर जुनसुकै अवस्थामा गर्न सकिने विज्ञ बताउँछन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै मुख्य सचिव पौड्यालले शारीरिक र मानसिक स्वस्थ्य राख्नाका साथै व्यक्ति र समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि दिलाउन योगाभ्यासले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । रिस र आवेगलाई तत्काल नियन्त्रण गर्न ठूलो मद्दत गर्न योगाभ्यासमा सबैको पहुँच विस्तार गर्न सरल, सुलभ तुल्याउन आवश्यक रहेको बताउँदै उनले योगसम्बन्धी अनुसन्धान गर्न र तालिम दिन स्वतन्त्र संस्था स्थापनाका लागि आगामी बजेटमा कार्यक्रम ल्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले मनलाई बलियो र शरीरलाई स्वस्थ्य तुल्याउन योगाभ्यासको अत्यन्त महत्व रहने विचार व्यक्त गरे । सो अवसरमा स्वास्थ्य विभागका महानिर्देशक सिनेन्द्र उपे्रती, नरदेवी आयुर्वेद कलेजका प्रमुख देव रोक्का, आयुर्वेद विभागका महानिर्देशक देवकला भण्डारीलगायतले योग स्वस्थ नागरिक बनाउने बलियो माध्यम भएको बताए ।

आयुर्वेद विभाग मातहत हाल मुलुकका विभिन्न १३ स्थानमा योगाभ्यास केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । मुलुकमा २०४८ साल चैतदेखि नरदेवी क्याम्पसमा योग अभ्यासको शाखा खोलिए पनि हाल सञ्चालनमा नरहेको बुझिएको छ । रासस