कमरेड प्रचण्डले १२२ औं माओ जयन्ती मनाउने क्रममा आयोजित कार्यक्रममा आफू ६२ बर्षको भएको र माओले ७५ बर्षमा सर्बहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरेको स्मरण गर्नु भएछ । र, अझै १० बर्ष क्रान्ति गर्ने उद्घोष समेत गर्नुभएछ । साथै एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा जुटेका डाक्टर बाबुराम भट्टराईलाई लिनप्याओवादीको विल्ला भिराउनु भएछ ।

हुन पनि चीनको, चिनियाँ कम्युनिष्ट पार्टीको र माओको प्रसङ्ग उल्लेख नगरी प्रचण्डको भाषण जम्ने कुरो भएन । एमाओवादीको हरेक अन्तर संघर्षलाई चीनमा के भएको थियो भनेर जनता कार्यकर्ता झुक्याउने प्रचलनको निरन्तरता दिन सफल उहाँ अझै क्रान्तिको कुरा गर्दै हुनुहुन्छ । प्रचण्ड जस्ता माओवादी नेताले क्रान्तिको कुरा गर्दा निसन्देह सर्वहारा क्रान्तिको कुरा हुन्छ । त्यसमा माओले चीनमा भएको जस्तो दीर्घकालीन जनयुद्धबाट गरिने नौलो जनवादी क्रान्तिको कुरा हुन्छ । बलपूर्वक सत्ता कब्जा गर्ने भन्ने अर्थ लाग्छ ।

[quote_box_left]

लेखक

निर्मल भट्टराई

Nirmal Bhattarai

[/quote_box_left]

कमरेड पुष्पलालले नौलो जनवादी क्रान्तिको खाका प्रस्तुत गरेको आज सात दशक पुग्न लागेको छ । यो सात दशकमा संसारमा तुमुलकारी परिवर्तन भएका छन् । नेपालको आर्थिक सामाजिक परिस्थितिमा समेत व्यापक परिवर्तन आएको छ । तपाईंले हेटौडा महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजमा नेपालको क्रान्ति पूरा भएको निष्कर्ष निकाल्नु भएको थियो । माओको सच्चा अनुयायी बनेर आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद बनाएर चीनकै शैलीमा दीर्घकालीन जनयुद्ध गरेर सत्ता कब्जा गर्ने तपाईको योजना फेल भइ सकेको स्वीकार्न तपाईं सक्ने अवस्थामा नभए पनि परिस्थिति जनता र कार्यकर्ताले पनि बुझ्दछन् । लोकतन्त्रमा नेताभन्दा जनता एक कदम अगाडि हुन्छन् त्यसकारण सत्ता परिवर्तन गर्न उनीहरु सक्षम हुन्छन् ।

तपाईंले भनेको दश बर्षमा तपाईंले सोचेजस्तो क्रान्ति हुन सम्भव देखिदैन । जनमतको आधारमा सत्ताको भागबण्डा भई रहने अवस्था मात्र विद्यमान छ । हो, यस अवधिमा तपाईं गठबन्धन मिलाएर प्रधानमन्त्री वा राष्टपति बन्न सक्ने संभावना छ । नेकासंग तालमेल गर्नुभयो भने अहिले भर्खरै तपाई सत्तामा पुग्न सक्नुहुन्छ । आफू पदमा पुग्दा क्रान्ति भएको ठान्ने हो भने त ठीक छ ।

माओको सन्दर्भ उल्लेख गर्दा आफू र माओको तुलना गर्दा किन तपाईं माओले सत्तामा पुग्न कहिल्यै संसदीय चुनाव लड्नु नपरेको तर तपाईं त्यत्रो जनयुद्ध लडेर पनि सत्तामा पुग्न संसदीय चुनाव लड्नु परेको घटनालाई सम्झनु हुन्न ? चिनियाँ कम्युनिष्ट पार्टीले माओको विचारबाट नौलो जनवाद प्राप्त भए पनि देङ् सियाओ पिङ्को सिद्धान्तको प्रयोगबाट व्यापक आर्थिक सम्वृद्धि गरेको तथ्यलाई किन आफ्नो भाषणमा ब्ल्याक आउट गर्नु हुन्छ ? किनभने तपाईको बनिबनाउ दृष्टिकोण छ , देङ् दक्षिणपन्थी संसोधनवादी हुन् । आफूलाई माओकै उचाई र अवस्थामा कहिलेसम्म राख्नुहुन्छ प्रचण्डज्यू ?

तपाईका कुनै बेलाका सहयात्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक क्रान्तिको चरण पूरा भएकोले अब आर्थिक सम्वृद्धिको लागि काम गर्नु पर्छ भने । सम्वृद्धिका लागि स्वधिनता, समावेशी लोकतन्त्र, समाजवाद र सदाचारी राजनीति चाहिन्छ भने । दुई बर्षदेखि लगातार बहस चलाइरहे । तर त्यसलाई तपाईले दक्षिणपन्थी पतनको विल्ला भिराउनुभयो । लिनप्याओवादी भनिदिए पछि खेल खत्तम । बाबुराम लिनप्याओ भए सुसिल कोइराला, के पि ओली, विजय गच्छेदार , उपेन्द्र यादव, किरण ,विप्लव को को हुन् ? जनताले जानकारी पाए वेशै हुन्थ्यो ।

के तपाई देशको सम्वृद्धि चाहनु हुन्न ? कि तपाईं जनता जर्जर गरीबीमा रहेमात्र आफ्नो राजनीतिको रोटी सेकिन्छ भन्ने ठान्नुहुन्छ ? सर्वहारा बर्गको सङ्ख्या बढाएर त्यसको नेता भइरहने कि त्यो अल्पसङ्ख्यक बर्गलाई लोप हुन सहयोग गर्ने ? तपाईंको पछिल्लो दस्तावेजले नेपालको कति प्रतिशत जनसङ्ख्या सर्बहारा छन् भन्ने केही किटान गर्यो कि ?

तपाईं भन्नुहुन्छ म क्रान्ति गर्छु । अर्थात् म गर्छु जे गर्छु । त्यही कारण आज तपाईलाई सबैले छोड्दैछन् । अझै दश बर्ष क्रान्ति गर्छु भन्नुको अर्थ हुन्छ , अझै दश बर्ष तपाई नेतृत्व छोड्नु हुन्न । तपाईंको समूह (एमाओवादी पार्टी बनिसकेको छैन ) का अरु नेता तपाईंको एकल निर्णयमा ताली बजाउने र कार्यकर्ता चमर हल्लाउने ? उनीहरुको आलोचना गर्ने ,मतदान गर्ने नेता चुन्ने हक हुन्न ? अनि त्यस्तो ठाँउमा बसेर बाबुराम , किरण जस्ता नेताले ताली बजाई राख्नुपर्ने ?

यसर्थ ,क्रान्तिका खोक्रा भाषणभन्दा आगामी चुनावको तयारी गर्नु , विगतको भन्दा बढी सिट ल्याएर आफ्ना बचेखुचेका जनमुखी एजेण्डा लागू गर्नु तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । फलाम चिसो भएपछि जति कुटे पनि हतियार बन्दैन भन्ने यहाँलाई थाहा नभएको होइन ।