१३ पुस, इलाम ।

इलाममा एम्बुलेन्स दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब साढे चार बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो ।

मे१च १७४७ नंको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब तीन सय ५० मिटर तल पल्टिएको थियो ।

घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक नै गम्भीर घाइते भएका कारण दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।