१३ पुस,  (काभ्रे)-

७० वर्षको वृद्ध शरीर। रातभरि स्याँठ, शीतले हान्छ। बिहान सेताम्मे तुसारोले अबेरसम्म बाहिर निस्कन सकिन्न। पुसयता कुनै यस्तो दिन छैन, उनी ओछ्यानमै शीतले नभिजेकी हुन्। टहरामा हिउँद झेल्न निकै सकस परेको छ, देवीटार–१, लामाटोलकी कान्छी लामालाई।

भूकम्पमा छोरा गुमाएकी उनी त्यसयता टहरामा बस्दै आएकी छन्। ‘उबेला भुइँचालोमा घर भत्केर छोराबुहारी खायो। यो चिसोले आफैंलाई खालाजस्तो छ,’ उनले भनिन्।

देवीटार गाउँका ९० घरधुरीको पीडा एकैनास छ। दुईवटा ढलान घरबाहेक सबै घरधुरी पाताल भएपछि सबै टहरामा पुगेका छन्। सरकारले देला र घर बनाउँला भन्ने आसमा बाँचेका पीडितको चिसोले बिचल्ली बनाएको गाविसका पूर्वअध्यक्ष धावा लामा बताउँछन्।

‘गर्मीमा टहरा तात्दा बाहिर बसेरै रात कटाए पनि चिसोमा त्यस्तो सम्भव छैन। चिसोले बालबालिका र बुढापाकालाई धेरै समस्या पारिसक्यो,’ लामाले थपे।

छिमेकी रबिओपी गाविसका पीडितको दैनिकी पनि उत्तिकै कष्टकर बन्दै छ। अधिकांश घरपरिवार अझै जस्तापाताको टहरामा जीवन गुजारिरहेछन्। ‘नौ महिना भयो, सरकारले थप राहत दिएन, आफ्नो शक्ति छैन। चिसोले यही छाप्रामा मर्ने दिन आयो,’ रबिओपी–४ का ढलकप्रसाद कोइरालाले गुनासो गरे।

भूकम्पपछि उनको बस्ती कोइराला टोलमा राहत लिएर कोही उक्लिएन। ‘पाएको १५ हजार रुपैयाँ मात्रै हो, हाम्रो अवस्था बुझ्न कोही आएन,’ उनले भने, ‘यो चिसोमा रुखमुनि नै मर्ने भइयो, ऋण दिने भनेको १५ लाख दिए ब्याज तिरेरै भए पनि राम्रो बास बनाइन्थ्यो, गाविस जाँदा जानकारी नै आएको छैन भन्छन्।’

भूकम्पले अधिक प्रभावित रबिओपी गाविसको वडा नं ४ र ५ मा उत्पात सिरेटो चल्छ। टहरोमा शीत चुहिन्छ। ‘अहिलेसम्म जेनतेन बाँचिएको छ, अबको दुई महिनाभित्र घर बनाउन नसकिए चैतको हुरीले टहरा नै उडाउँछ,’ उद्धव कोइरालाले भने।

पीडितहरू अस्थायी टहरामा कष्ट झेलिरहे पनि भूकम्पलगत्तै सक्रिय रहेका विभिन्न विषयगत क्षेत्र (क्लस्टर)का संघसंस्थासमेत अहिले निष्त्रि्कय छन्। पीडितमा चिसोजन्य स्वास्थ्यसमस्या बढिरहँदा स्थानीय स्वास्थ्यचौकीमा भने औषधि सकिएको छ। राहतमा आएका केही औषधिले काम चलाइरहेको स्वास्थ्यकर्मी बताउँछन्।

‘राहतमा आएका औषधिबाट काम चलाइरहेका छौं, जिल्लाबाट औषधि आएको छैन। चिसोले समस्या आइहाले सामान्यबाहेकका बिरामीलाई रेफर नगरी सुख छैन,’ देवीटार स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद सापकोटाले भने।

उता, धुलिखेल अस्पतालको इमर्जेन्सी विभागमा यतिखेर श्वासप्रश्वासका बिरामी आउने क्रम बढ्दो रहेको विभागका डा. अर्जुन कार्कीले जानकारी दिए। ‘जस्तापाताको टहरामा बस्दै आएका वृद्धवृद्धालाई पुरानो दम, खोकीको समस्या बढेको छ भने बालबालिकालाई निमोनियाको समस्या देखिएको छ,’ उनले थपे।

चिसोका बिरामी बढेसँगै अस्पतालले इमर्जेन्सी विभागमा थप उपकरणसमेत जडान गरेको छ। ‘अक्सिजन पोइन्ट थपेका छौं, न्यानो पार्न नेबुलाइजरसमेत उल्लेख्य संख्यामा तयारी राखेका छौं,’ डा. कार्कीले थपे।

पुगेन न्यानो राहत

भूकम्प पीडितलाई न्यानो कपडा खरिदका लागि केन्द्रबाट पठाइएको १० हजार रकम हालसम्म सातवटा गाविसमा मात्रै वितरण भएको छ। अझै ६९ गाविस र ५ वटा नगरपालिकामा यो रकम पुगेको छैन।

अघिल्लो जेठमा १५ हजार रकम वितरण गरेको पेस्की फर्छ्योट नगरेका गाविसमा हालको राहत रकम नपठाइएको हो। ‘जिल्ला दैवीप्रकोप उद्धार समितिले पेस्की फर्छ्योट भएका गाविसमा मात्रै न्यानो कपडा किन्न रकम पठाउने निर्णय भएको छ, हालसम्म सातवटा गाविसमा रकम गइसक्यो। पेस्की फर्छ्योट गरेका थप ३० गाविसमा चाँडै पठाउँदैछौंं,’ जिल्ला प्रशासन कार्यालयका लेखापाल भीम पोखरेलले जानकारी दिए।

मंसिर अन्तिम साता काभ्रे जिल्लामा ५० करोड रुपैयाँ निकासा भएको थियो। पहिलो चरणमा ५० हजार पीडित घरपरिवारका लागि भनेर यो रकम आएको हो। अघिल्लो पटक १५ हजार रकम वितरण गर्दा पूर्ण क्षति घरधुरी संख्या ८३ हजार ३ सय २८ कायम भएको थियो। नागरिक दैनिकबाट