१९ पुस, काठमाडौं ।

उपत्यकाको सडक ठाउँ ठाउँमा भत्काएर छोड्ने तर बनाउन जिम्मेवार नहुने भन्दै सरकार र सम्बन्धित निकायलाई आरोप लगाउने सांसद ती सडक विस्तारमा बाधक बन्ने गरेका छन् । जिम्मेवार पदमा रहेका तिनले कतै स्थानीयलाई उचाल्दै त कतै ठेकेदारसँग मिलेर काममा अवरोध गर्ने गरेका छन ।

उपत्यकामा आधामात्र काम भएका र भत्काएर छोडिएको अवस्थाको कारण तिनै सांसद, स्थानीय बासिन्दा र ठेकेदार नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीको तर्क छ । यता सडक विभाग भने सांसददेखि स्थानीयसम्म समन्वय गर्ने र जसो तसो ठेकेदारलाई दबाब दिएर काम लगाउने प्रयत्नमा समय बिताइरहेको छ ।

सांसदले स्थानीयस्तरमा त सर्वसाधारणलाई उचालिरहेका छन् भने संसदीय समितिमा समेत खुलेर सर्वसाधारणको मागविपरीत नजान दबाब दिन थालेका छन् ।

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको काम सांसद र स्थानीयको विरोधका कारण २०६४ मै ठेक्का लागे पनि अहिलेसम्म तीन प्रतिशतमात्र काम भएको छ । बीचका धेरै खण्डमा स्थानीयले विरोध गरेकाले काम हुन नसकेको विभाका महानिर्देशक माधवकुमार कार्कीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।