२३ पुस, काठमाडौं।।

प्रहरीले गत पुस १२ गते राति न्युरोडस्थित लक्ष्मी सुन चाँदी गहना पसलबाट करिब दुई किलो सुनका गरगहना चोरी गर्ने समूहका तीन सदस्यलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गएराति गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट सो समूहका सदस्यलाई पक्राउ गरी लिएर आउन खोज्दा उनीहरुबाट प्रहरीमाथि आक्रमण भएपछि गरिएको गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

पक्राउ पर्नेहरुमा म्याग्दी रुम गाविस घर भई हाल गोङ्गबु नयाँ बसपार्क बस्ने २० वर्षीय दिलबहादुर पुन, नुवाकोट महाकाली गाविस घर भई हाल नयाँ बसपार्क बस्ने २३ वर्षीय उमेश तामाङ, गोरखा धावा गाविस घर भई हाल गोङ्गबु बस्ने २२ वर्षीय सन्तोष वयलकोटी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउने क्रममा सो समूहका १०÷१२ जना साथीले प्रहरी कार्मचारीहरु माथि ढुङ्गामुढा तथा हातपात गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

सो क्रममा गोरखा धावा गाविस घर भई हाल गोङ्गबु बस्ने २२ वर्षीय अमृत वयलकोटीको मलद्वारको नजिकै प्रहरीको गोली लागि सामान्य घाइते भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

यस घटनामा महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक गोपाल थापा मगर घाइते भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिमध्ये दिलबहादुर पुन २०६९ सालमा म्याग्दी जिल्लामा चोरी घटनामा संलग्न रही तीन वर्ष जेल भुक्तान गरी छुटेका र उमेश तामाङ २०७१ सालमा म्याग्दीको बेनी महोत्सवमा भएको लुटपाट तथा झैझगडा घटनामा मुद्दा चली रु ५१ हजार धरौटीमा छुटेको भन्ने कुरा अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

सो टोलीले नेपालका मुख्य मुख्य सहरमा सुनचाँदी पसल र घरमा समेत राति तथा दिउँसो घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहना, ल्यापटप लगायतका सामान चोरी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।