२६ पुस, काठमाडौं ।

आठ वर्षदेखि नेपालमा बस्दै आएका विक्रम र विवेक मित्तलको देखिने व्यवसाय सुन कारोबार हो । न्युरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक यी दाजुभाइको असली धन्दा भने प्रहरीले शुक्रबार मात्र खोलिदियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारत, पश्चिम बंगालका मित्तल दाजुभाई चिनियाँ र भारतीय व्यापारीसँग मिलेर वैध व्यापारको अवधारणामा सुन तस्करीमा संलग्न रहेछन् ।

प्रहरीले शुक्रबार नौ किलो सुनसहित मित्तल दाजुभाइ र उनीसँग तस्करीको सुन किन्न आएका भारतीय नागरिक भागीरथ चौधरीलाई पक्राउ गरी सुन तस्करीको जालो केलाउन थालेको छ ।

महाशाखाका एसएसपी सर्वेन्द्र खनाल प्रारम्भिक अनुसन्धानमा उनीहरु सुन व्यापारीको आवरणमा लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको बताउँछन् ।

उनका अनुसार चीनमा रहेका मामा नामका व्यक्तिले नेपाली भरियामार्फत सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलेर सुन काठमाडौं पठाउने र मित्तल दाजुभाइले स्थानीय बजार र भारतसमेत पठाउने गरेका थिए । नागरिक दैनिकमा खबर छ ।