२६ पुस, काठमाडौं ।

नेपालका मात्र होइनन्, संसारका अन्य देशका धेरै नेता पनि सार्वजनिक स्थलमै आफ्नो भावनामाथि नियन्त्रण गुमाउँछन् । यस्तो मामिलामा सबैभन्दा कमजोर सायद अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् ।

केही दिनअघि बन्दुक नियन्त्रणसम्बन्धी नयाँ प्रावधान घोषणा गर्ने क्रममा राष्ट्रपति बाराक ओबामाका आँखा रसाए । सन् २०१२ मा स्यान्डी प्राइमरी स्कुलमा भएको गोलीकाण्डबारे कुरा गर्दै उनी रोएका थिए ।

उनीसँगै उभिएका उपराष्ट्रपति जो विडेन पनि भावुक भए ।त्यसो त सार्वजनिक स्थलमा ओबामा रोएको यो पहिलोपटक होइन । हरेकपटक जब उनी यो घटना सम्झन्छन्, उनको बोली अवरुद्ध हुन्छ र उनका आँखा भिज्छन् । स्यान्डी नरसंहारमा २० साना बालबालिका र ६ वयस्कको मृत्यु भएको थियो ।

comb

रुन माहिर भारतीय नेता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामान्यतया कठोर प्रशासक मानिन्छ । मानिस उनलाई ‘निष्ठुरी’ पनि भन्छन् । तर, आफ्नी आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने क्रममा उनी धेरैपटक भावविह्वल बनेका छन् ।

गएको सेप्टेम्बरमा अमेरिकास्थित फेसबुक कार्यालयको भ्रमणका वेला आफ्नी आमालाई सम्झेर उनी भावुक बने, गला अवरुद्ध भयो र आँखा रसाए ।

आफ्नो कार्यकालको पहिलो दिन संसद्लाई सम्बोधन गर्ने क्रममा अटल विहारी बाजपेयीलाई याद गर्दै मोदी भावुक बनेका थिए । भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि धेरैपटक भावुक देखिए ।

पूर्वपत्रकार तथा आम आद्मी पार्टी नेता आशुतोष क्यामेराअघि क्वाँक्वाँ रोएको सायदै मानिसहरूले भुले होलान् । यसअघि टेलिभिजनको क्यामेराअघि यसरी रुने नेतामा कंग्रेसका पूर्वअध्यक्ष सीताराम केसरी पनि थिए ।पुलिसको गिरफ्तारीमा पर्दा आफूमाथि दुव्र्यवहार भएको भन्दै भाजपाको ‘फायरब्रान्ड’ नेता आदित्यनाथ संसद्मा आवाजै निकालेर रोए ।

राष्ट्रप्रेमले रुन्छन् नेता
ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डी सिल्भा प्राय: भावुक हुन्छन् । सन् २००९मा सन् २०१६ को ओलम्पिक रियो डी जेनेरियोमा हुने घोषणा भएपछि उनले आफ्ना भावनालाई काबुमा राख्न सकेनन् र उभिएरै रोए । तर, उनको छविमा यसले कुनै असर परेन । उनी देशका सबैभन्दा लोकप्रिय राष्ट्रपति थिए ।

सन् २०१० मा काबुलस्थित एउटा हाई स्कुलमा अफगानिस्तानको खराब अवस्थाबारे बोल्दाबोल्दै अफगानी पूर्वराष्ट्रपति हमिद कार्जायी बेस्सरी रोए । देशमा असुरक्षाका कारण आफ्नै छोरा विदेशिने त होइन ? भन्ने डरले उनले आँसु झारेका थिए ।

जुलाई २०१४ मा पत्रकारले एक जापानी नेतासँग उनको खर्चबारे प्रश्न सोध्दा उनी रुन थाले । यसको भिडियो इन्टरनेटमा भाइरल भएको थियो । नेता रियुतारो नोनोमुरामाथि पत्रकारले निजी भ्रमणमा सरकारी पैसा प्रयोग गरेको आरोप लगाएपछि उनी रोएका थिए । उनले आफ्ना सबै यात्रा कामको सिलसिलामै गरेको स्पष्टीकरण दिए । पछि उनले यही मुद्दामा राजीनामा दिए ।

पुटिन पनि रुन्छन् र ?
सन् २०१२को मार्चमा राष्ट्रपतीय चुनावमा आफू विजयी भएको खबर पाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि रोए । मस्कोको मानेझान्या चोकमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनी मज्जैले रोए ।ती आँसु पुटिनको कठोर छविविपरीत थिए । तर, उनका प्रवक्ताले भने पुटिनका आँखामा भावनाका कारण नभई चिसो मौसम र बाफिलो हावाका कारण पानी निस्किएको स्पष्ट पारे ।

सन् २००८मा चुनावी अभियानका वेला न्यु हेम्पसायरमा एक समर्थकको प्रश्नले हिलारी क्लिन्टनलाई रुवाएको थियो । उनले आफूलाई सम्हालेर प्रश्नको जवाफ दिइन् ।पछि उनले भनिन्, ‘मसँग कुनै प्रकारको भावना नहुनु भनेको चिन्ताको विषय हो ।’ त्यसवेला उनी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको प्रत्यासी बन्ने प्रयास गरेकी थिइन् । तर, उनी बाराक ओबामाबाट हारिन् ।

बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले सन् १९९० को २८ नोभेम्बरमा डाउनिङ स्ट्रिटबाहिर भावविह्वल भएर बिदाइ भाषण दिएकी थिइन् । बेलायतमा ‘आइरन वुमन’ भनेर चिनिने थ्याचरको पार्टीले उनको नेतृत्वमा चुनावमा जान अस्वीकार गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । १० डाउनिङ स्ट्रिटमा अन्तिमपटक देखिँदा उनका आँखाबाट आँसु झरिरहेको थियो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।