कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेको उजुरीका आधारमा विभागले १ सय म्यानपावर कम्पनीको सूची बनाउने भएको छ ।

अनुगमनबाट वैदेशिक रोजगारमा जाने कामदारले भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठारहेको आरोप हटाउन विभागले १ सय म्यानपावर कम्पनीको सूची तयार गर्न लागेको हो । विभागका निर्देशक जनकराज रेग्मीले माघको पहिलो सातासम्ममा सूची तयार भई कारबाही प्रक्रिया सुरु हुने बताए ।

‘अब ठगीमा पर्ने कामदारले न्याय पाउनेछन्,’ उनले भने, ‘विभागकै कर्मचारीले आर्थिक चलखेल गरेमा उनीहरू पनि म्यानपावरसँगै  कारबाहीमा पर्नेछन् ।’ अनुगमन भइरहे पनि म्यानपावर कम्पनीले दुरुस्त कागजात मिलाउने र कामदार पनि सजग नहुँदा केही समस्या परे पनि सुची निर्माण भइरहेको विभागले जनाएको छ ।

विभागका निर्देशक जनकराज रेग्मीले म्यानपावर कम्पनीमाथि छड्के निगरानी गर्न लागिएको बताए । ‘विभागका कर्मचारीको आर्थिक चलखेलले म्यानपावर कम्पनीमाथिको अनुगमन फितलो भएको होइन,’ उनले भने । म्यानपावर कम्पनीले भने विभागका कर्मचारी अनुगमनमा आउँदा ‘शुभ लाभ’ गराई सन्तुष्ट पार्नुपर्ने बाध्यता भएको जनाएका छन् ।

बसुन्धरामा रहेको १ म्यानपावर सञ्चालकले अनुगमनमा आउने कर्मचारीलाई १५ देखि ३० हजार रुपैयाँसम्म दिएर सन्तुष्ट पार्नुपर्ने बाध्यता भएको जानकारी दिए ।

कामदार भने विभाग र म्यानपावर कम्पनीको भनाइमा विश्वास गर्दैनन् । एजेन्टमार्फत पाँचथरबाट राजधानी आएका श्याम लिम्बूले वैदेशिक रोजगारमा जान खोज्दा खुबै हैरानी पाएको बताए ।‘एक सातामा उडाइसक्ने भनेर राजधानी ल्याए, १२ दिन भइसक्यो अझै टुंगो छैन ।’

विभागमा दलाल बढे

विभागको बुद्धनगर र ताहाचालमा रहेका शाखामा दलाल बढेका छन् । यही कारण सेवाग्राहीले सीधै फाइल स्वीकृत गराउन सक्दैनन् । सबैभन्दा बढी दलाली रिइन्ट्री शाखामा हुने विभागस्रोतले जनायो ।

दलालले वैदेशिक रोजगारमा नै नगएका कामदारलाई पनि प्रतिफाइल १० देखि १५ हजार रुपैयाँ लिएर श्रम स्वीकृति गराइदिन्छन् । तर, विदेशबाट फर्किएका कामदारलाई भने सहजै श्रम स्वीकृति दिने कार्य झन्झटिलो छ । विभागमा रहेका शाखा अधिकृत शिवचन्द्र धितालले पछिल्लो समयमा म्यानपावर कम्पनीको नाम परिवर्तनमा पनि आर्थिक लाभ लिने गरेका छन् ।

म्यानपावर परिवर्तन गर्दा १५ देखि २० हजार रुपैयाँ अतिरिक्त असुली हुने गरेको विभागस्रोतले जनायो । यसरी तिरेको रकम कर्मचारीले कामदारसँग असुली गर्छन् । यस्तै, अभिमुखीकरण शाखाका अधिकृत अर्जुन खतिवडाले म्यानपावर कम्पनीले अभिमुखीकरण तालिम नै नदिए पनि १ कामदारबराबर १ हजार ५ सय रुपैयाँ लिएर कागज मिलाइदिने गर्छन् । उनले यस्तो गर्दा पनि निर्देशक रमा भट्टराईले संरक्षण दिँदै आएको विभागस्रोतले जनायो । नयाँ पत्रिका दैनिकमा खबर छ