२७ पुस, काठमाडौं ।
एचएन्डबी डेभलपमेन्ट बैंक कुलेश्वर शाखामा भएको घोटाला प्रकरणमा पुनरावेदन अदालतले शाखाप्रमुख निरज नेपाललाई १३ वर्ष कैद र ८६ करोड ६६ लाख रुपैयाँ जरिबानाको सजाय तोकेको छ । नेपालको हानिनोक्सानीबापतको बिगोसमेत जफत गर्ने फैसलामा उल्लेख छ।
पुनरावेदनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र चण्डीराज ढकालको संयुक्त इजलासले घोटालामा मुछिएका बैंकका ग्राहक मनोज चौरसियालाई पनि १३ वर्ष कैद र २९ करोड १७ लाख जरिबानाको सजाय तोकेको छ।उक्त मुद्दामा सरकारका तर्फबाट बहस गरेका सहन्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले यो फैसला बैंकिङ कसुरसम्बन्धी मुद्दामा अहिलेसम्मकै ठूलो जरिबाना र जेल सजाय रहेको बताए।
‘बिगोको हिसाब, कसुरको तौरतरिका र डिजाइनका हिसाबले पनि बैंकिङ कसुर मुद्दामा इतिहासकै ठूलो मुद्दा हो’, घिमिरेले अन्नपूर्णसँग भने, ‘सत्यतथ्य पत्ता लगाउन हामीले धेरै मेहनत गर्नुपरेको थियो।’ घिमिरेले अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को ठूलो भूमिका रहेको बताए। ‘यो मुद्दामा दूधको दूध पानीको पानी भएको छ’, उनले भने।
H_And_B_Bank_583233160
अदालतले मुद्दाका अर्का आरोपी बैंकका ग्राहक जयकुमार यादवलाई पनि आठ वर्ष कैद र ९ करोड १४ लाख रुपैयाँ जरिबानासहित बिगो जफत गर्ने निर्णय गरेको छ। अदालतले मुद्दाका अभियुक्तमध्ये १४ जनालाई सजाय सुनाएको छ।
सजाय पाउनेमा शाखाप्रमुख नेपालसहित बैंकका ग्राहक चौरसिया, यादव, मनीषा पौडेल, विनश डंगोल, परशुराम देवकोटा, रिमा केसी, निर्मल नेपाल, सुरेन्द्रकुमार प्रधान, अभिन्द्रकुमार श्रेष्ठ, कुमार ढकाल, राजु सुवाल र रसेस महेश्वरी सुखानी छन्।बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुरूप उनीहरूलाई कैद र जरिबानाको सजाय भएको हो।
मुद्दामा आरोपीमध्येकी बैंककी तत्कालीन प्रमुख कार्यकारीअधिकृत जसोदा सैंजु, बैंक सञ्चालक पुष्पज्योति ढुंगाना, बैंक कर्मचारी महेश भुसाल तथा सेवाग्राही प्रशान्त अग्रवाल, अमृत टिबडेवालासहित एक दर्जन आरोपीले सफाइ पाएका छन्।एचएन्डबीका कुलेश्वर शाखा प्रमुख नेपालले बैंकका ग्राहक चौरसियासँग मिलेर खातामा पैसा नभएको चेकमा गुड फर पेमेन्ट जारी गरेका थिए।
चौरसियाले गुड फर पेमेन्ट चेकका आधारमा ठूलो रकम तत्कालीन वैभव फाइनान्स, विभिन्न सहकारी तथा व्यक्तिसँग ऋण लिएका थिए। राष्ट्रबैंकले एचएन्डबीको काण्डपछि गुड फर पेमेन्ट चेक लिएर ऋण प्रवाह गर्न रोक लगाएको थियो।
उनले ग्राहकले खातामा जम्मा गर्न आएको रकम पनि जम्मा नगरेर बैंकको भल्टमा हुने पैसासमेत चलाएर अनियमितता गरेको अभियोग थियो। बैंक तथा वित्तीय संस्थामा हुने जोखिममा सञ्चालन जोखिमअन्तर्गत एचएन्डबीको घटनालाई लिइन्छ। अन्नपूर्ण दैनिकमा खबर छ ।