२७ पुस, काठमाडौं ।
सत्ता पक्षले संविधान संशोधनमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको समर्थन जुटाउने कसरत थालेको छ।
मोर्चाले भने आफूहरूले उठाएका माग समेटेर संविधान संशोधन विधेयक परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्ष दलहरूसँग आग्रह गरेको छ।सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षबीच आइतबार सिंहदरबारमा बसेको बैठकमा संविधान संशोधनबारे गम्भीर छलफल भएको रक्षामन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष भीम रावलले बताए।
मधेसी मोर्चाको असहमतिका बीच सत्तापक्ष र प्रतिपक्षी दलको सहमतिमा संविधान संशोधनका लागि संसद्मा प्रक्रिया अगाडि बढाइएको छ।’संविधान संशोधन विधेयकमाथि छलफल भएको छ । त्यसलाई टुंगोमा पुर्‍याउन समान धारणा बनाउन लागेको छौं। चाँडै सहमतिमा पुग्ने विश्वास छ’, रावलले भने।
बैठकमा प्रदेशको सीमांकन, समावेशी समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता र भाषामा केन्द्रित रहेर छलफल गरिएको तराईमधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताए। ‘वार्ता सकारात्मक वा नकारात्मक भन्दा पनि राम्रोसँग भएको छ’, उनले भने।
 त्रिपाठीका अनुसार कार्यदलको तहमा सोमबार विस्तृत छलफल गरिने भएको छ।कांग्रेस नेता महेश आचार्यका अनुसार मधेसी नेताहरूले बैठकमा आन्दोलनमा उठेका माग सम्बोधन हुने गरी संविधान संशोधन विधेयक परिमार्जन गर्न सत्तापक्षलाई आग्रह गरेका थिए।
मोर्चाका नेताहरूले आफूहरूलाई पनि संविधान संशोधन प्रक्रियामा सहभागी हुनका लागि संविधान संशोधन विधेयक परिमार्जन गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यदलमा रहेका एमाओवादी प्रतिनिधि कृष्णबहादुर महराको अनुपस्थितिमा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा सहभागी थिए।
नेता त्रिपाठीले मधेसमा दमन रोक्न, पक्राउ गरिएकाहरूलाई रिहा गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्र मधेस आन्दोलनको समस्या राष्ट्रको शिर नझुक्ने गरी समाधान हुने विश्वास व्यक्त गरेका छन्। तीन महिनाभित्र सीमांकनको हेरफेर र परिमार्जनका निम्ति जनताको सुझाव र विज्ञको राय लिने प्रक्रिया अगाडि बढाउन खोजिएको र नाकाबन्दी खुलाउन कूटनीतिक र राजनीतिक पहल भइरहेको दाहालले बताउँदै आएका छन्।
यसैबीच सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनबीच आइतबारका लागि निर्धारित वार्ता स्थगित भएको छ । गठबन्धनसँग उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा रहेको सरकारी वार्ता समितिले वार्ता गर्ने तयारी थियो। अन्नपूर्ण दैनिकमा खबर छ ।