२७ पुस, काठमाडौं ।

कांग्रेसका अधिकांश भ्रातृसंगठन लामो समयसम्म पनि महाधिवेशन हुन नसक्दा निष्क्रियप्रायः भएका छन् ।

देशको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसकै भातृसंस्था वर्षाैंसम्म पनि महाधिवेशन गर्न असफल भएका हुन् । पार्टीको नर्सरीका रूपमा लिइने नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मात्र होइन, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ र नेपाल राष्ट्रिय मगर संघजस्ता भ्रातृसंस्थाको महाधिवेशन हुन सकेको छैन । यी भातृसंस्थाको ०६४ सालपछि महाधिवेशन हुन नसकेको हो ।

लोकतान्त्रिक पार्टीकै भ्रातृसंगठनको महाधिवेशन समयमै हुन नसक्नु लाजमर्दाे विषय भएको कांग्रेसकै नेता टिप्पणी गर्छन् । यसअघि पटक÷पटक मिति तय हुँदासमेत अन्तिम समयमा भ्रातृसंगठनको महाधिवेशन टर्दै आएको थियो । अहिले पार्टी नै महाधिवेशनको तयारीमा जुटेकाले भ्रातृसंस्थाको महाधिवेशन तत्काल सम्भव नहुने कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए । उनले पार्टीको महाधिवेशनपछि मात्र भ्रातृसंस्थाको महाधिवेशन हुने स्पष्ट पारे । ‘यतिबेला त कसरी भ्रातृसंस्थाको अधिवेशन सम्भव होला ? पार्टी प्रवक्ता बडूले भने, ‘अब पार्टीको महाधिवेशन भएपछि सबै भ्रातृसंगठनको महाधिवेशन हुन्छ ।’

पहिलो संविधानसभा निर्वाचनअघि तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि पार्टीभित्र प्रस्ट दुई धार कायमै छ । पार्टीको १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित सुशील कोइरालाले पद सम्हालेको केही महिनापछि नै ०६७ सालमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघलगायत संगठन विघटन गरेको थियो । पार्टी केन्द्रीय कार्यसमितिले ती विघटित भ्रातृसंस्थाको महाधिवेशन गर्न २१ माघ ०६८ मा अध्यक्ष तोकेर तदर्थ समिति गठन गरेको थियो । पार्टीको १२औँ महाधिवेशन, त्यसपछि तदर्थ समिति गठन गरेर ६ महिनाभित्र महाधिवेशन गर्न नयाँ नेतृत्वलाई जिम्मा दिए पनि ४ वर्ष बितिसक्दासमेत अधिवेशनको टुंगो लागेको छैन । त्यतिबेला वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भ्रातृसंस्था विघटन नगर्न नेतृत्वलाई दबाब दिएको थियो ।

नेपाल विद्यार्थी संघ
कांग्रेसको नर्सरीका रूपमा लिइने नेपाल विद्यार्थी संघको अधिवेशन नभएको ८ वर्ष भइसकेको छ । विधानतः अधिवेशन प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने व्यवस्था छ ।

नियमित महाधिवेशन भए यतिबेला ४ पटक नेविसंघले नयाँ नेतृत्व पाइसकेको हुन्थ्यो तर ८ वर्षसम्म महाधिवेशन नभएर अस्तव्यस्त बनेको संघको महाधिवेशन कहिले हुने हो त्यसको पनि कुनै टुंगो नरहेको नेविसंघकै नेता बताउँछन् । चार वर्षअघि ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी रञ्जित कर्णलाई संघको जिम्मेवारी दिइएको थियो ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले अब पार्टीको महाधिवेशनअघि संघको अधिवेशन हुने सम्भावना नरहेको बताए । उनले ६४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको र पाँच वटा क्याम्पसको मात्र अधिवेशन हुन बाँकी रहेको अवस्थामा पनि पार्टी नेतृत्वकै कारण संघको महाधिवेशन हुन नसकेको गुनासो व्यक्त गरे । ‘हामीले त महाधिवेशनका लागि पटक–पटक मिति पनि तोकेका थियौँ,’ उनले भने, ‘तर अन्तिम समयमा आएर पार्टी नेतृत्वले आफूहरूसँगको परामर्शविनै स्थगन गरिदिँदा अहिलेको अवस्था आएको हो ।’

८ वर्षदेखि अधिवेशन हुन नसकेको संघको ८ पटक नै अधिवेशनका लागि समय तोकिए पनि अन्तिम समयमा तयारी नपुगेको भन्दै सर्दै आएको छ । लोकतान्त्रिक पार्टीभित्र देखिएको गैरलोकतान्त्रिक प्रवृत्तिको सिकार भ्रातृसंस्था बनेको नेविसंघका पूर्वउपाध्यक्ष नैनसिंह महर बताउँछन् । अहिलेको पुस्ताप्रति नै अन्याय भएको भन्दै महरले नेतृत्वप्रति असन्तुष्टि पोखे ।

नेपाल तरुण दल
पार्टीको युवा संगठन तरुण दलको अधिवेशन नभएको १० वर्ष भइसकेको छ । विधानतः तीन वर्षभित्र अधिवेशन भइसक्नुपर्ने व्यवस्था छ । तैपनि अधिवेशनको टुंगो छैन । तरुण दलका कार्यवाहक अध्यक्ष जन्मजयदेव तिमिल्सिनाका अनुसार करिब ३५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । पार्टी नेतृत्वले नै अधिवेशनप्रति चासो नदेखाएकाले दलको अधिवेशन हुन नसकेको तिमिल्सिना बताउँछन् । ‘हामी अधिवेशनका लागि तयार छौँ,’ उनले भने, ‘पार्टीको महाधिवेशनपछि मात्र तरुण दलको अधिवेशन गर्ने खालको कुरा आएपछि हामी पनि केही सुस्त भयौँ ।’

नेपाल महिला संघ
महिला संघको अधिवेशन नभएको पनि लामो समय भइसकेको छ । पार्टी एकीकरणपछि संघको अधिवेशन हुन सकेको छैन । चार वर्षअघि महिला संघलाई विघटन गर्दै डा. डिला संग्रौलालाई महाधिवेशन गराउने गरी संयोजक तोकिएको थियो । संग्रौलाका अनुसार संघको पनि अधिकांश जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । उनले आफू अधिवेशन गराउन तयार रहे पनि पार्टी नेतृत्वकै अनिच्छाका कारण अधिवेशन अनिश्चित बनेको बताइन् । पार्टीको महाधिवेशनअघि संघको महाधिवेशन नहुने निश्चितप्रायः बनेको संग्रौलाले स्पष्ट पारिन् ।

यस बीचमा नेपाल दलित संघ, नेपाल स्वतन्त्र ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियनका महाधिवेशनबाट वरिष्ठ नेता देउवा पक्षधर नेतृत्व आएको थियो । आफूअनुकूल नेतृत्व नआउने भयले संस्थापन पक्ष बाँकी भ्रातृसंस्थाको महाधिवेशन गराउन तयार नरहेको देउवा पक्षको दाबी छ भने संस्थापन पक्ष भने पार्टीको महाधिवेशनको तयारी र राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण सम्भव हुन नसकेको दाबी गर्दै आएको छ ।