१९ माघ, काठमाडौं ।
९ माघको वार्ता भाँडिएपछि अनौपचारिक संवादमा समेत नरहेका प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच ११ दिनपछि सोमबार वार्ता भएको छ।

राज्य व्यवस्था समितिको हलमा भएको वार्तामा मोर्चाबाट महन्थ ठाकुर मात्रै सहभागी थिए। उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव भारतको बिहारमा रहेकाले सहभागी भएनन् ।

तीन दल र मोर्चाको कार्यदललाई पुन: सक्रिय बनाउने सहमति भएको छ। ‘उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र उक्त संयन्त्रको टिओआर बनाएर तीन महिनाभित्र टुंगो लगाउने गरी छलफल गर्न कार्यदललाई सक्रिय बनाउने सहमति भयो,’ वार्तामा सहभागी एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।

७ माघमा जुन बिन्दुमा कुरा अड्किएको थियो, त्यही बिन्दुबाट कार्यदलले काम सुरु गर्ने सहमति भएको उनको भनाइ थियो।

दुई दिनभित्र घाइतेलाई पैसा

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले मधेस आन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय कार्यान्वयन नभएको भन्दै मोर्चाले सोमबारको वार्तामा कुरा उठाएको थियो ।

मोर्चा संयोजक ठाकुरले उक्त कुरा उठाएपछि तीन दलले घाइतेहरूका बारेमा विस्तृत अध्ययन गरी दुई दिनभित्र निर्णय गर्ने सहमति भएको छ । अध्ययन गर्ने जिम्मा भने रक्षामन्त्री भीम रावललाई दिइएको छ।

मोर्चाका सर्त
मोर्चाले वार्ताको वातावरण बनाउन तत्काल तीनवटा निर्णय गर्न आग्रह गरेको थियो । तत्काल घाइतेको उपचार खर्च निकासा गर्न, मुद्दा फिर्ता र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको मोर्चा नेता अशोक राईले जानकारी दिए । तीन दलले ती मागबारे सकारात्मक जवाफ दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

यो पनि पढ्नुस्।

हेडक्वार्टरमा हंगामा

बिहारमा उपेन्द्र र महतो !

पौडेललाई मनाउन दुवै पक्षबाट आकर्षक प्रस्ताव