२० माघ, काठमाडौं ।

बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवं समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लागेको नयाँ पार्टीको अवधारणा भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् ।

मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणमा छन् र यस कार्यमा मिश्रलाई खनालले पनि सहयोग पुर्याउँदै आएका थिए ।

खनालले नयाँ पार्टीको विधान बनाउने जिम्मा मिश्रबाट लिए र उनलाई केही नयाँ टिप्स पनि मिश्रले दिएका थिए । मिश्रले दिएको सुझावअनुसार बनाइएको विधानमा उम्मेदवारलाई अस्वीकार गर्न पाइने (राइन टु रिजेक्ट) र पदमा पुर्याइएका व्यक्तिलाई फिर्ता बोलाउने हक (राइट टु रिकल) बारे उल्लेख गरिएको थियो ।

त्यसैगरी, कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था पनि सो विधानमा गरिएको थियो ।

मुमारामलाई समेत राखेर नयाँ पार्टी गठनको तयारीमा लागेका मिश्र त्यसबेला झस्किएका थिए जब खनाल बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्तिमा लागेको समाचार सार्वजनिक भएको थियो ।

खनालसँगै आफूले गठन गर्न लागेको दलको विधानमा उल्लिखित केही महत्त्वपूर्ण अंशहरुसमेत बाबुराम भट्टराईद्वारा गठित पार्टीको अवधारणाका रुपमा सार्वजनिक भएपछि रवीन्द्र मिश्र स्तब्ध भएको बुझिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।