२८ फागुन, एजेन्सी । सिरियाको राजधानी दमास्कस नजिकै भएका दुई विष्फोटमा परी कम्तीमा ४० जनाको मत्यु भएको अरबेली सञ्चारमाध्यमले जनाएका छन् ।

सिया मुसलमान समुदायको पवित्र धार्मिक स्थलमा भएका विष्फोट के उद्देश्यले गराइएको थिए भन्ने विषयमा सञ्चारमाध्यमहरुमा परस्पर फरक धारणा आएका छन् ।

बाब अल साघिर चिहान क्षेत्रमा दुई वटा विष्फोट भएका र घटनामा थुप्रै सिरियाली नागरिकको मृत्यु भएको सिरियाको राष्ट्रिय समाचार संस्था सानाले जनाएको छ । उक्त चिहान क्षेत्रमा सिरियाका थुप्रै महत्वपूर्ण सिया समुदायका धर्म गुरुहरुको शव गाडिएको सानाले बताएको छ ।

सिरियाली अधिकारीलाई उद्धृत गर्दै अरब अल मानर टेलिभिजनले दुई विष्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

अरबी सञ्चारमाध्यहरुले सिया मुसलमानका धर्म गुरुहरुको मृत शरीर राखिएको ठाउँलाई असर पु-याउने ध्येयका साथ विष्फोट गराइएको जनाएका छन् भने कतिपय सञ्चारमाध्यमले उक्त क्षेत्रमा इश्लामिक स्टेट (आइएस) समूहलाई लक्षित गरी सिरियाली प्रशासनद्वारा आक्रमण गरेको बताइएको छ ।