१२ बैशाख, काठमाडौं । संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु हुदैछ । आज दिउसो १ बजे बस्ने संसद बैठकमा संसोधन विधयेक माथि छलफल हुन लागेको हो ।

नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसद्ले गर्न सक्ने गरी संविधान संशोधन गर्न खोजेको छ । अहिले संविधानमा सीमांकन हेरफेरको प्रस्ताव प्रदेशसभाबाट स्वीकृत भएर आएपछि मात्र संघीय संसद्को दुईतिहाइ बहुमतले गर्न सक्ने व्यवस्था छ ।सरकारले संविधान संशोधन विधेयक संसद्मा पेस गरेको हो । कानुनमन्त्री अजयशंकर नायकले हिजोको बैठकमा विधेयक पेस गर्नु भएको हो ।

मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन गर्न २९ चैतमा सरकारले पुरानो विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको थियो । तर, मोर्चा र संघीय गठबन्धनले असहमति जनाएपछि नमिलेका विषयमा थप संशोधन हाल्ने गरी संसद्मा छलफलको प्रक्रिया अघि बढाउन लागिएको हो ।