१६ बैशाख, काठमाडौं ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदाचारयुक्त राजनीतिको लागि नयाँ शक्ति पार्टी एक मात्र विकल्प भएको दावी गरेका छन् ।

आज पार्टी कार्यालय बबरमहलमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सयोजक भट्टराईले नेपाललाई हिमाल, पहाड, तराई मधेसको पहिचानसहितको इन्द्रधनुषी राट्रिय चरित्रसहितको राज्यको परिभाषा गर्ने पहिलो पार्टी नयाँ शक्ति भएको दाबी गरे ।

शान्ति, एकता र तीन वटा जातीय क्लष्टरलाई जोडेर विकास र समृद्धि हासिल गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो । अहिले देशमा राजनीतिलाई नै पेशा बनाएर विना लगानी करोडपति हुने प्रवृत्ति बढेको भन्दै भट्टराईले नयाँ शक्तिले मात्र सुशासन र सदाचारको एजेण्डा स्थापित गर्ने दावी गरे ।

मधेसीहरुलाई विभिन्न बहानामा अनेपाली भन्ने हर्कत केही मधेसी विरोधी तत्वहरुले गरिरहेको भन्दै भट्टराईले मधेसी, थारु लगायतका उत्पीडित समुदायलाई समान अधिकार दिलाउनको लागि नयाँ शक्ति पार्टी सदैव लागिरहने बताए ।

कार्यक्रममा सर्लाही, काभ्रे, बारा जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौंको संख्यामा नयाँ शक्तिमा प्रवेश गरेको नयाँ शक्तिले बताएको छ ।