२८ मंसिर, स्याङ्जा । स्याङ्जाको चापाकोट गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका दुई युवाको परिवारलाई १०/१० लाख रूपैयाँको राहत प्रदान गरिएको छ ।

गत कार्तिक १२ गते प्रहरीको गोली लागि मृत्यु भएका १८ वर्षीय सूर्य आले र २१ वर्षीय कृष्ण भट्टराईको परिवारलाई राहत स्वरूप १०/१० लाख रूपैयाँ आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा हस्तान्तरण गरिएको हो । मृतक सूर्य आलेको बुवा तेजबहादुर आले र मृतक कृष्ण भट्टराईको बुवा ईश्वरी भट्टराईलाई १०/१० लाखको चेक हस्तान्तरण गरिएको थियो । क्षेत्रीय प्रशासक प्रमुख लोकदर्शन रेग्मीले पिडित परिवारलाई नेपाल बैक लिमिटेडको चेक हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताएका छन् ।

स्थानीय एक महिलाको मृत्युको विषयलाई लिएर उत्पन्न तनावका कारण प्रहरी कार्यालय अगाडि कार्तिक १२ गते प्रहरीले गोली आले भट्टराईको मृत्यु भएको थियो । असोज २७ गते चापाकोटकी ३५ वर्षीया माया विक झुण्डिएको अवस्थामा भेटिएपछी उत्पन्न तनावका क्रममा प्रहरीले गोली चलाएको थियो । मायाले आत्महत्या नभई परिवारजनले हत्या गरी झुण्डाएको भन्दै स्थानीयबासीले कार्तिक १२ गते चापाकोट प्रहरी चौकी घेराऊ गर्नुका साथै ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो ।