Prachanda-baburam-narayan३० मंसीर, काठमाडौ । आज हुने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पार्टीले प्रस्तुत गर्ने एजेण्डा तथा अडानका विषयमा छलफल गर्नका लागि एमाओवादीले आज दिउँसो दुई बजे पूर्वपोलिटब्यूरो बैठक बोलाएको छ । निर्वाचनमा धाँधली भएको भन्दै छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै आएको एमाओवादीले समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न पूर्वपोलिटब्युरोको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा हुने भनिएको उक्त बैठकमा निर्वाचनमा पार्टीले पराजय बेहोरेको बिषयमा शीर्ष नेताहरूबाटै फरक-फरक भनाईहरू सार्वजनिक भइरहेको विषयमा पनि बहस हुने सम्भावना पनि रहेको आज बिहान बसेको हेडक्वाटरको बैठकले संकेत गरेको छ । उक्त बैठकमा पार्टीका शीर्ष नेताहरू नै पार्टीको निष्कर्ष विपरित बोल्दै हिडेको भन्दै संस्थापन पक्षले असन्तुष्टी पोखेपछी शीर्ष नेताहरूलाई त्यसो नगर्न चेतावनी नै दिने तयारी अध्यक्ष प्रचण्डले गरिरहेको बताइएको छ ।

विषेशगरी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा तथा सामाजिक सञ्जालमा आफ्ना भावना पोख्ने क्रममा पार्टीकै कारण हार बेहोर्नुपरेको स्विकार गर्दै आएका छन् । उनीहरुले ब्राह्य धाँधली भन्दा पनि पार्टीको आन्तरिक कारण नै पार्टीको हारको मुख्य कारण रहेको बताउँदै भट्टराई र प्रकाशले विभिन्न माध्यमबाट आफ्नो भनाई राख्दै आएका कारण प्रचण्ड यसबाट निकै रूष्ट रहेको बताइएको छ ।

पार्टीले निर्वाचनमा संस्थागत, नीतिगत र संरचनागत धाँधली भएको निष्कर्ष निकालिसकेको अवस्थामा पार्टीका शीर्ष नेताहरूले यसरी बोल्दै हिड्नुले पार्टीको शाख घट्ने र पार्टीले उठाएको धाँधलीको विषयलाई जोडतोडका साथ उठाउन गाह्रो हुने भन्दै प्रचण्ड तथा उनीपक्षीय नेताहरू बाबुराम र प्रकाशलाई जथाभावी बोल्दै नहिड् चेतावनी दिने तयारीमा रहेको बताइएको छ । पोलिटब्यूरो बैठकमा प्रचण्डले बाबुराम र प्रकाशलाई अबदेखी सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिँदै नहिड्न चेतावनी दिने बताइएको छ ।

निर्वाचनमा पार्टीको पराजयलाई आन्तरिक मुल्यांकन पनि गर्नुपर्ने सोचमा अध्यक्ष प्रचण्डपनि रहेको तर अहिले भने निर्वाचनमा धाँधली नै भएको भन्दै छानविन आयोगको गठनको मागलाई मुल रूपमा उठाउनुपर्ने प्रचण्डको भनाई रहेको एक नेताले बताएका छन् । अहिलेको अवस्थामा निर्वाचनमा धाँधली भएको विषयलाई मूख्य रूपमा उठाउँदै पार्टीभित्रको आन्तरिक कारणभने केलाउँदै त्यसलाई सच्याउँदै जाने सोचमा अध्यक्ष प्रचण्ड रहेका छन् ।