९ पुष, काठमाडौ । निर्वाचनका धाँधली भएको भन्दै निस्पक्ष छानविनको माग गर्दै आएका एकिकृत माओवादी लगायतका १८ दलले पनि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने भएका छन् ।

एकीकृत नेकपा (माओवादी)को कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज भएको बैठकले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो । प्रमुख दलका बीचमा निर्वाचनमा धाँधली भएको विषयमा छानविन गर्नका लागि संसदीय समिति गठन गर्ने सहमति भए लगत्तै बसेको बैठकले समानुपातिकको सूची बुझाउने निर्णय गरेको हो ।

बैठकले समानुपातिकको सूची तयार गर्नका लागि निर्वाचन आयोगसँग थप केही दिन माग गर्ने निर्णय पनि गरेको छ । आयोगले सूची बुझाउनका लागि दिएको समयसीमा भोली सकिने भएकाले केही दिन माग गर्ने निर्णय बैठकले गरेको नेताहरूले जानकारी दिए ।

यसअघि निर्वाचनमा धाँधली भएको भन्दै छानविनको माग गर्दै अठार दलले निर्वाचन आयोगमा सूची नबुझाउने निर्णय गरेका थिए । बैठकमा एमाओवादी, मधेस केन्द्रीत दल र साना दलको सहभागिता थियो ।