१२ पुष,पोखरा । नेपाल सरकारको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र राष्ट्रिय कफी व्यवसायी संघको संयुक्त आयोजनामा आजदेखि पोखरामा दोस्रो राष्ट्रिय कफी महोत्सव सुरु भएको छ ।

नवौ राष्ट्रिय कफी दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवको आज उद्घाटन गर्दै कृषि तथा सहकारी मन्त्री टेकबहादुर थापा घर्तीले सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न योजनाहरु ल्याएको बताउँदै कृषिमा थप व्यावसायिकता आवश्यक भएकोमा जोड दिए । उनले यस वर्ष सरकारले कफीको मूल्य तोकेर किसानलाई थोरै भएपनि हौसला प्रदान गरेको बताएका छन् ।

यस वर्षदेखि किसानहरूले आलो कफीको मूल्य प्रतिकिलो ५० रुपैयाँ पाउने भएका छन् । पश्चिमाञ्चललाई कफीको पकेट क्षेत्र मानिन्छ । देशभर उत्पादन हुने कफीमध्ये ७० प्रतिशत कफी पश्चिमाञ्चलका ११ जिल्लाहरुमा उत्पादन हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पश्चिमाञ्चल प्रमुख रघुपती चौधरीले बताए । पश्चिमाञ्चलको सबैभन्दा धेरै स्याङजामा वार्षिक ३३ टन कफी उत्पादन हुँदै आएको छ ।

दुई दिनसम्म सन्चालन हुने महोत्सवमा कफीसँग सम्बन्धित कफी प्रशोधन सामाग्री, जैविक मल लगायतका प्रदर्शनी समेत राखिएको छ । महोत्सवमा निःशुल्क कफी पिउन र साँस्कृतिक कार्यक्रम सञ्चालन हुने छन् ।

गत वर्ष मात्र नेपालमा ५ सय २५ मेक्ट्रीटन कफी उत्पादन भएको मध्य दुई सय १२ मेक्ट्रीटन कफी विदेश पठाएको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख चौधरीले जानकारी दिए । यस वर्ष अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी कफी नेपालमा उत्पादन हुने चौधरीको अनुमान छ । उत्पादन क्षेत्र विस्तारका लागि देशभर कफी विरुवा रोपण र विरुवा उत्पादन गर्न प्रोत्साहन गर्नका लागि महोत्सव फलदाईक हुने उनले बताए ।

महोत्सवमा कफी प्राविधिकहरुले कफी सेवनबाट हुने फाईदा तथा यसको खेती गर्ने तरिकाका बारेमा समेत जानकारी गराउने छन् । पोखराको चिप्लेढुङ्गाबाट विभिन्न झाकी सहितको ¥याली पोखरा प्रर्दशनीमा पुगरे मेलामा सहभागी भएको थिए । र्यालीमा सहभागीहरुले कफीबाट बनेका माला, विभिन्न झाकी निमार्ण गरि प्रर्दशन गरेका थिए ।