गोकुल बानियाँ

१४ पुष,पोखरा । नेकपा एमालेको समानुपातिक सभासद्तर्फ गण्डकी र धवलागिरी अञ्चलबाट ११ जना उम्मेदवार चुनिएका छन् । एमालेले शनिबार निर्बाचन आयोगमा बुझाएको नामावलीमा गण्डकीबाट ६ र धवलागिरीबाट ५ जना उम्मेदवार समेटिएका छन् ।

आयोगमा बुझाएको सुचीको आधारमा कास्की, स्याङजा, लमजुङ र बागलुङबाट २÷२ तथा पर्वत, म्याग्दी र मुस्ताङबाट १÷१ जना उम्मेदवारलाई समानुपातिक सभासदमा चयन गरिएको छ । कास्कीबाट चुणामणी जंगली र तुलबहादुर गुरुङ, लमजुङबाट टुका हमाल र डाक्टर भीष्मनाथ अधिकारी तथा स्याङजाबाट प्राध्यापक डाक्टर गणेशमान गुरुङ र टेकु नेपाली समानुपाति सभासद्को लागि छनौट भएका छन् ।

बाग्लुङबाट नरवहादुर थापा र महेन्द्र शेरचन, म्याग्दीकी नरदेवि पुन, पर्वतकी कल्पना शर्मा र मुस्ताङकी श्रीमाया थकाली समानुपातिक सभासद्मा छानिएको नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले जानकारी दिनुभयो । एमालेले गण्डकी र धवलागिरीबाट ४ जना महिलालाई सभासदमा चयन गरेको छ । ६ जना जनजाति र एक जना दलित अन्तर्गत बैकल्पिक केन्द्रिय सदस्य चुणामणि जंगलीलाई कास्कीबाट चयन गरेको हो ।

नेकपा एमालेको स्थायी समिति बैठकले टुंगो लगाएको समानुपातिक सभासदहरुको अन्तिम नामावलि प्रति कास्कीका कपितय नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । पार्टीभित्र कास्कीमा राम्रो प्रभाब जमाएका बैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीलाई सभासद् चयन नगरेको भन्दै उनि समर्थकहरु दवाबको लागि भन्दै राजधानी गएका छन् । उनिहरुले पार्टी मुख्यालय बल्खुमा धर्ना दिने बुझिएको छ।