prachanda-baburam१३ माघ, काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिशेष महाधिवेशन गएर ‘पुजीवादी क्रान्ति’ को कार्यदिशा परिमार्जन गर्न सकिने बताएका छन् । उनले एक वर्ष अघि हेटौडा महाधिवेशनले लिएको कार्यदिशामा धेरै सुझाव आएकाले बिशेष महाधिवेशन गरी समेट्ने र नेतृत्व चयन गर्न सकिने बताएका हुन् ।

 

आफ्नो निवास लाजिम्पाटमा आइतबार दोस्रो तहका नेताहरुको बैठकमा पुजीवादी क्रान्तिको कार्यदिशा सही भए पनि आएका सुझाव समेट्न र नेतृत्व चयनका लागि महाधिवेशनमा जान उचित हुने बताएको एक नेताले जनाए ।

 

‘बिशेष महाधिवेशनमा गएर सुझाव समेट्न सकिन्छ, नेतृत्व चयन पनि हुन्छ’ दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यसको अर्थ हेटौडा महाधिवेशनले लिएको कार्यदिशा गलत थियो भन्ने होइन, त्यसलाई अझ समृद्ध गर्न महाधिवेशन गर्न सकिन्छ ।’ निर्वाचन अघि उसले नेतृत्व चयनका लागि सांगठनिक सम्मलेन गर्ने निर्णय गरेको थियो । गत साउनमा भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि दाहालबाहेक सबै नेता केन्द्रीय सदस्यको रुपमा छन् । महाधिवेशनबाट अन्य नेता चयन हुने एमाओवादीको भनाइ छ ।

 

बैठकमा नेता बाबुराम भट्टराईले पनि बिशेष महाधिवेशनमा जाने प्रस्तावलाई समर्थन गरे । ‘कार्यदिशाबारे थप छलफलका लागि बिशेष महाविधेशनमा जान सकिन्छ’ उनको भनाइ थियो, ‘त्यसले कार्यदिशा कार्यान्वयनका लागि परिमार्जन गर्न सकिन्छ ।’ यसअघि उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुनुपर्ने धारणा राखेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

 

समानुपातिक सभासद्को अन्तिम सूची बुझाउने काम सहमतिमा नभएको भन्दै उनले गुनासो गरेका छन् । आफू र नेता नारायणकाजी श्रेष्ठले सच्याउन सूची सच्याउन आग्रह गरेपछि हेडक्वाटरको बैठक बोलाएर सहमति गर्ने समय हुँदाहुदै एकलौटी रुपमा नाम पठाएको उनको भनाइ थियो । ‘केन्द्रीय कार्यालयको बैठक गरेर सूची सच्याउन सकिन्थ्यो, सूची बुझाउँने काम संस्थागत हुन सकेन । पार्टी संस्थागत रुपमा नचलेका कारण अप्ठ्यारोमा परेको छ’ उनको भनाइ थियो ।

 

आफूले पद्धति र प्रणालीमा फरक मत राख्न बित्तिकै पार्टी फुटाउन लागेको आरोप लगाउनु गंभीर भएको उनको भनाइ थियो । ‘फरक मत राख्न बित्तिकै पार्टी फुटाउन लागेको आरोप लगाउनु गंभीर कुरा हो’ उनको भनाइ थियो, ‘फरक मत राख्नेलाई शंकाको दृष्टिले हेर्नु गलत छ ।’ उनले पार्टीमा कार्यबिभाजन शक्ति सन्तुलनका आधारमा हुनुपर्ने उल्लेख गरे ।

 

उनले दाहालको विकल्प नखोजेको उल्लेख गर्दै शक्ति बाँडफाँड सन्तुलनका आधारमा हुनुपर्ने बताएका थिए । दाहाल र भट्टराईबीच संसदीय दललगायतमा पद बाँडफाँडबारे कुरा मिल्न नसक्दा बैठक लम्बिएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष दाहालनै संसदीय दलको नेता हुनुपर्ने सुझाव दिएका छन् । दाहाल नेता भए भट्टराई उपनेता हुन पनि सुझाव दिएका छन् । संविधान नबनेसम्म कुननै पदमा नबस्ने बताएका उनले संसदीय दलको उपनेता स्वीकार गर्ने/नगर्ने बताएका छैनन् ।