२९ माघ ,जाजरकोट। जाजरकोटको पुन्मा र जगतिपुर दुई गाविसमा एकदिने ‘जिम्मेवार पुरुष, स्वस्थ परिवार’ मेला सम्पन्न भएको छ ।

आफ्नै गर्भवती श्रीमतीहरूको शारीरिक कठिनाइप्रति हरेक श्रीमान्लाई जिम्मेवार बनाउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको थियो । पुन्मा गाउँ विकास समितिको गङ्गटिया स्वास्थ्य चौकीमा मङ्गलबार महिला अधिकार मञ्च जाजरकोटको आयोजनामा र जगतिपुर गाउँ विकास समितिको शिवशङ्कर उच्च माध्यमिक विद्यालयमा बहुआयामिक विकास तथा अध्ययन मञ्च जाजरकोटको आयोजनामा जिम्मेवार पुरुष स्वस्थ परिवार मेला सम्पन्न भएका हुन् ।

 

मेलामा पुन्मा र जगतिपुर गाउँ विकास समितिका गर्भवतीका पतिपत्नी, जिल्लाका अन्य गाविसका नमुना जोडीहरूको सहभागिता रहेको थियो । मेलामा १२ वटा स्टल राखिएका थिए । मेलामा नामदर्ता, फोटो प्रदर्शनी, प्रजनन स्वास्थ्य , लैङ्गिक भूमिका, पोषण, भोजन लगायतका स्टलहरू राखिएको महिला अधिकार मञ्च जाजरकोटकी कार्यक्रम संयोजक निर्मला थापाले बताए ।  

 

दुवै ठाउँमा आयोजित मेलामा करिब ३०० भन्दा बढीको सहभागिता रहेको थियो । जगतिपुर गाविसमा आयोजित जिम्मेवार पुरुÈ स्वस्थ परिवार मेला हेर्न आउँदै गर्दा जगतिपुरकै २५ वर्षीया कालिका विक बाटामै सुत्केरी भएकी थिइन् ।

झन्डै १ घण्टाको बाटोमा हिँड्ने क्रममा सुत्केरी भएकी विक र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको त्यहाँको स्वास्थ्य चौकीले जनाएको छ । रासस