२९ माघ, पानीट्याङ्की (मोरङ)  । समुदायस्तरसम्म जलवायु तथा मौसमको भरपर्दो सूचना उपलब्ध गराउन देशका तीन भिन्नभिन्न स्थानमा जलवायु तथा मौसम मापकयन्त्र ‘राडार’ जडान गरिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराज शर्माका अनुसार जलवायुसम्बन्धी सूचना व्यवस्थित गराई समुदायस्तरमा हुने जोखिम न्यून गर्न देशभरका तीन महत्वपूर्ण ‘बेसिन’लाई आधार बनाएर आधुनिक राडार जडान गरिने भएको हो ।

    
मङ्गलबार जलवायु विभागले जलवायु ‘समुत्थान लघु आयोजना’ बारे जानकारी गराउन विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा महानिर्देशक शर्माले आधुनिक राडार जडान गरिसकेपछि समयमै समुदायलाई बाढीको सूचना दिनसके तत्काल उद्धार गरेर जोखिम  न्यूनीकरण गर्न सहज हुने जानकारी गरे ।

    
निर्देशक शर्माका विश्व बैंक र एसियाली विकास बैंकको सहयोगमा करिब साढे तीन लाख अमेरिकी डलर मूल्य पर्ने अत्याधुनिक राडार जडान गरिने छन् । ती राडार पाँच वर्षभित्र बेसिन क्षेत्रको महाभारत रेन्जमा जडान गरिने छन् ।

महाभारत रेन्जमा राडार जडान गर्दा पहाड र तराई क्षेत्रको जलवायु र मौसमको अवस्था तत्काल थाहा पाउन सकिने छ । महानिर्देशक शर्माका अनुसार जलवायु र मौसमसम्बन्धी सूचना सही ढङ्गले समुदायस्तरसम्म नपग्दा जलवायु परिवर्तनको नकारात्मक जोखिमको मार भोग्न स्थानीय जनता बाध्य छन् ।

जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गरेर सकारात्मक प्रभावलाई फैलाउन दातृ निकायको सहयोगमा जलवायु तथा मौसमको सूचना समुदाय स्तरसम्म व्यवस्थापन गर्न जलवायु तथा मौसम विज्ञान विभागले तीन करोड तीन लाख अमेरिकी डलर बराबरको ‘जलवायु समुत्थान लघु आयोजना’ २०१३ नोभेम्बर ३० देखि सञ्चालनमा ल्याएको हो ।

यो आयोजना सन् २०१८ मा समाप्त हुने महानिर्देशक शर्माले जानकारी गराए । यो कार्यक्रमअन्तर्गत जलवायु तथा मौसम पूर्वानुमान सूचनालाई आधुनिकीकरण गर्न बहाल रहेका संस्था र जनशक्तिको क्षमता अभिवृद्धि गरी समुदायस्तरसम्म सूचना सञ्जालको विस्तार पनि गरिने छ । रासस