४ फागुन,काठमाडौं। सत्ता साझेदार दल नेकपा एमालेले पूर्वसहमति कार्यान्वयनको अडान राखेर सरकारमा सहभागी नहुने बताएपछि प्रधानमन्त्री सुशील कोइरालाले एमालेको विकल्प खोज्न सुरु गरेका छन् ।

 

प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले नेतृत्वसँग संवादहीनताको अवस्था कायम रहेपछि कोइरालाले विकल्प खोज्ने भन्दै आङ्खनो विपक्षमा मतदान गर्ने एकीकृत नेकपा माओवादीसँग छलफल थालेका छन् ।

 

प्रधानमन्त्री कोइरालाले आङ्खनो सरकार जोगाउन शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक प्रस्ताव नै राखेका छन् । अपराह्नको टेलिफोन वार्तापछि साँझ आफ्नै निवासमा बोलाएर दाहालसँग भेटवार्ता गरेका कोइरालाले सरकारलाई सहयोग गर्न औपचारिक प्रस्ताव राखेका हुन् । दाहालले पनि एमालेसँगको सहमति तोडे कोइराला नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने जानकारी गराएका छन् ।

 

sushil koirala bigप्रधानमन्त्री निर्वाचनमा कोइरालाको विपक्षमा मतदान गरी प्रमुख प्रतिपक्षमा बसेको एमाओवादीले एमालेसँगको सहमति तोडेर संविधानसभा अध्यक्षमा आफ्नो उम्मेदवारलाई मतदान गरे कोइराला सरकारलाई निःसर्त समर्थन गर्ने बताएको हो ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा प्रधानमन्त्रीमा कांगेस संसदीय दलका नेता कोइरालालाई एमालेले समर्थन गरी मतदान गर्ने र संविधानसभा अध्यक्षमा एमाले उम्मेदवारलाई कांग्रेसले समर्थन गरी मतदान गर्ने उल्लेख छ । शनिबार भएको वार्तामा कोइरालाले सो सहमति तोड्ने संकेत गर्दै संविधानसभा अध्यक्षमा एमाओवादीलाई सहयोग गर्ने आश्वासन दिएको स्रोतले बतायो ।

सत्ता साझेदार दल एमालेले गृह मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अडान राखेपछि सम्बन्ध चिसिएका बेला एमाओवादी अध्यक्ष दाहालले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेपछि कोइराला एमाओवादीसँग नजिक हुन थालेका छन् ।

कोइराला निवास महाराजगन्ज पुगेका एमाओवादी अध्यक्ष दाहालले एमालेले सहयोग नगरे आफ्नो दलले सरकारलाई सहयोग गर्ने औपचारिक धारणा राखेका थिए । एमाओवादी अध्यक्ष दाहालले मुलुकलाई सरकारविहीन अवस्थामा राख्न नहुने भन्दै आवश्यक परे कांग्रेसलाई सहयोग गर्ने संकेत दिएका हुन् ।

प्रधानमन्त्री कोइरालासँग शनिबार साँझ करिब पौने एक घन्टा लामो भेटमा दाहालले मुलुकलाई बन्धक बनाउन नहुने भन्दै कांग्रेस–एमालेबीच सरकार गठनमा ‘सकस’ निम्तिरहने हो भने विकल्प दिनुपर्ने बताएको कोइरालानिकट स्रोतले जनायो ।

त्यसलगत्तै साँझ प्रधानमन्त्री निवास पुगेका एमाओवादी अध्यक्ष दाहालले सरकार गठनका विषयमा ठूलै संकट आएको हो भने एमाओवादीले आवश्यक सहयोग गर्ने बताएका थिए । स्रोतका अनुसार दुई नेताबीच एमालेले गृह मन्त्रालयमा ‘बार्गेनिङ’ गरेर मुलुकलाई अड्काइरहने हो भने कांग्रेस–एमाओवादीबीचमा समीकरण बनाएर अघि बढ्नुपर्नेमा छलफल भएको थियो ।

छलफलमा दाहालले सरकार गठनमा भइरहेको विलम्बले जनतामा नकारात्मक सन्देश गएकाले छिटोभन्दा छिटो अवरोध अन्त्य गरेर जान कोइरालालाई सुझाव दिएका थिए । कोइराला प्रधानमन्त्री चुनिएपछि दाहाल र कोइरालाबीच भएको यो पहिलो भेटवार्ता हो ।

कांग्रेस–एमाओवादी समीकरण बन्दा मधेसवादी दलहरूले पनि कोइरालालाई सहयोग गर्न सक्ने सम्भावनाका विषयमा पनि छलफल चलेको स्रोतको भनाइ छ । कोइरालाले सत्ता साझेदार एमालेसँग अन्तिममा एक पटक छलफल गर्ने र त्यसमा सहमत नभएमा एमाओवादीले आपूmहरूलाई सहयोग गर्ने÷नगर्ने विषयमा एमाओवादी धारणा मागेका थिए ।

एमाओवादी अध्यक्ष दाहालले कोइरालासँग मूलतः तीनओटा विषयमा केन्द्रित रहेर कुरा राखेको दाहालका स्वकीय सचिव चूणामणि खड्काले जानकारी दिए । दाहालले कोइरालासँग सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिई सरकार गठनमा देखिएको उल्झन तोड्नुपर्ने, एक वर्षभित्रै संविधान निर्माणको बाटोमा लाग्नका लागि सरकार र पार्टीहरूका बीचमा समन्वयको वातावरण बनाउनुपर्ने र युद्धकालका घटनाको छानबिनका लागि छिटोभन्दा छिटो सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गर्न आग्रह गरेका थिए ।

दाहालले सरकारलाई संकटमा पर्न नदिन आपूले पूर्ण सहयोग गर्ने भन्दै संविधानसभाबाट एक वर्षभित्रै संविधान निर्माण गरी जारी गर्ने सम्बन्धमा कांग्रेसको धारणा माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोइरालाले एमालेसँग चाँडै निर्णायक वार्ता हुने जनाउँदै त्यतिन्जेलसम्मको लागि कुर्न आग्रहसमेत गरेका थिए । उनले आङ्खनो कुरा मानेर एमाले खुरुक्क सरकारमा नआए संविधानसभा अध्यक्षमा एमाओवादीलाई सहयोग गरी एमालेलाई देखाइदिने भनाइसमेत राखेको दाहालनिकट स्रोतले बतायो ।
दाहालसँग एकल वार्तामा बसेका कोइरालाले एमालेका वार्ता टोलीसँग छलफल गर्न केन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई शनिबार साँझ नै खटाएका थिए । तर, उनीसँग एमालेका कुनै नेताले छलफल नगर्ने बताएका छन् ।

एमालेलाई गृह मन्त्रालय दिन नहुने भन्दै आएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहले एमाले नआएमा एमाओवादीलाई साथ लिएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् । अघिल्लो संविधानसभामा १७ पटकसम्म आपूलाई मत नहाली हराएका कारण पौडेल कोइराला प्रधानमन्त्री बन्न गरेको कांग्रेस–एमाले सहमति तोडेरै जानुपर्ने अडानमा छन् ।

स्रोतका अनुसार पौडेलले दुई ठूला कम्युनिस्ट पार्टी भिडाएर जानुपर्ने भन्दै एकविरुद्ध अर्कालाई प्रयोग गर्ने रणनीतिमा कोइरालालाई सहमतसमेत गराइसकेका छन् ।
एमाओवादी पनि एमालेलाई सरकारबाहिर राखेर कांग्रेससँग मिलेर जान सके संविधानसभामा आफुले भनेअनुसार काम हुने निष्कर्षमा रहेको छ ।

एमालेले भने आफुलाई दिने भनी प्रतिबद्धता जनाइसकेको मन्त्रालय नदिई कांग्रेसले अन्तिम समयमा धोका दिएको भन्दै ‘हनिमुन यात्रा’ सम्मलाई सरकारबाहिरै बसेर समर्थन जनाउने बताइरहेको छ । कांग्रेस–एमालेबीच दूरी बढिरहँदा कांग्रेस–एमाओवादी भने नजिकिने संकेत देखिएको हो । यसअघि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा कांग्रेस–एमालेले सरकारलाई पूर्णता दिन नसक्ने हो भने विकल्प दिनुपर्ने र त्यसका लागि एमाओवादी तयार रहेको बताएका थिए ।
राजधानी दैनिकबाट