५ फागुन,काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालासँग शनिबार भएको ‘गोप्य सहमति’ आफ्नै पार्टीका शीर्ष नेतासँग लुकाएका छन् । शनिबार कोइरालासँगको भेटवार्तापछि आइतबार बिहानै बोलाइएको पार्टी केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले भेटमा भएको सम्पूर्ण विवरण लुकाएका हुन् ।

 

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालालाई गृहमन्त्री विवादमा एमालेले कांग्रेसलाई साथ नदिए आफुहरूले निःर्सत सरकारबाहिरै बसेर समर्थन गर्ने सहमति गरेका थिए । एमाओवादीभित्र सरकारमा सहभागी नभई संविधान निर्माणमा पार्टीको सम्पूर्ण ध्यान लगाउने विषयमा नेताहरूबीच मतभेद नभए पनि कांग्रेस नेतृत्वको सरकारलाई निःर्सत सहयोग गर्ने/नगर्ने विषयमा विवाद छ ।

 

केन्द्रीय कार्यालय टिमभित्रै अध्यक्ष दाहाल र नेता पोष्टबहादुर बोगटी कोइराला नेतृत्वको सरकारलाई संकटको घडीमा आवश्यक परे निःर्सत सहयोग गर्न तयार देखिएका छन् । तर, नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ निःर्सत सहयोग गर्न नसकिने अडानमा छन् ।

 

शनिबार दाहालले कोइरालालाई आपूहरूको ध्यान संविधान निर्माणमै भए पनि एमालेले साथ नदिएमा सरकारबाहिरै बसेर सहयोग गर्ने बचन दिएका थिए । दाहालले कोइरालासँग संविधानसभा अध्यक्षमा आपूलाई सहयोग गरे कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने वचन दिएका हुन् ।

prachanda happy

 

‘प्रधानमन्त्री कोइरालाले एमालेलाई गहृमन्त्री दिनै नसकिने कुरा गर्नुभयो, त्यही विषयका कारण ऊसँगको सहकार्य हुन नसक्ने भयो, तपाईंहरूको सहयोग चाहियो भन्नुभयो । मैले कांग्रेस–एमालेबीच नै सहमति गरेर सरकार बनाउनुहोस्, अप्ठ्यारै परे एमाओवादी सहयोग गर्न तयार छ भन्ने कुरा राखें,’ केन्द्रीय कार्यालय बैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । कोइराला र दाहालबीच शनिबार एकल वार्ता भएको थियो ।

दाहालले कोइरालासँग सरकारका विषयमा भएको थप कुरा कार्यालय बैठकमा खुलाउन नचाहेपछि बैठक विषयान्तर भएको थियो । त्यसपछि पहिलो संविधानसभामा भएका निर्णयहरूको स्वामित्व ग्रहण गर्न जोडदार माग गर्ने विषयमा बैठक केन्द्रित भएको थियो । आइतबारको कार्यालय बैठकलाई दाहाल पक्षले प्रधानमन्त्रीसँगको छलफल र सरकारमा सहभागी नहुने पूर्वनिर्णयकै विषयमा अडिग रहेको जनाउ दिन राखिएको बताएको छ । भट्टराई पक्षले भने कार्यालय बैठक नभएको टिप्पणी गरेको छ ।

 

‘पार्टीभित्रको संविधान मस्यौदा समितिको बैठक थियो, राजनीतिक कुरा केही भएन,’ भट्टराईनिकट स्रोतले भन्यो । आइतबारको बैठकमा नेता नारायणकाजी श्रेष्ठ भने अनुपस्थित थिए । एमाओवादी कार्यालयमा दाहाल, भट्टराई, श्रेष्ठ र बोगटी सदस्य छन् ।

 

कार्यालय बैठकका लागि भनेर श्रेष्ठ दाहाल निवास पुगे पनि बोगटी आउन ढिला भई बैठक सुरु नभएपछि उनी बाहिरिएका थिए । श्रेष्ठ बाहिरिएको केही समयपछि मात्रै बैठक बसेको थियो । बैठकपछि नेता पोष्टबहादुर बोगटीले बैठकले सरकारमा सहभागी नभई रचनात्मक प्रतिपक्षमा नै बस्ने निर्णय दोहो-याएको जनाए ।राजधानी दैनिकबाट