nepal army१० फागुन, काठमाडौं । सैनिक सामर्थ्यका आधारमा नेपाल विश्वको ७७ औं स्थानमा रहेको एक अन्तर्राष्ट्रिय संस्थाको अध्इयनले देखाएको छ । विश्वको सैनिकसम्बन्धी अनुसन्धान गर्ने संस्था ग्लोबल फायर पावर (जिएफपी)ले आफ्नो वेबसाइटमा विश्वका विभिन्न एक सय ६ मुलुकको सैन्य सामर्थ्य सूचीकृत गरेको छ ।

 

वेबसाइटले सैनिक सामथ्र्य मापनका लागि सेनालाई केन्द्रीय भागमा राखेको छ । मानव स्रोत, प्राकृतिक स्रोत साधन, भू-बनोट, भौतिक पूर्वाधार, अर्थ, हवाई, जललगायत शक्तिका विभिन्न ५० स्रोत सैनिक सामर्थ्य मापनका मुख्य आधार बनाइएका छन् । जिएफपीले अघिल्लो वर्ष निकालेको सूचीमा भने नेपाल विश्वको ६४ औं स्थानमा थियो । त्यसबेला जिएफपीले विश्वका ६८ मुलुकलाई सैनिक सामर्थ्यका आधारमा सूचीकृत गरेको थियो ।

 

वेबसाइटका अनुसार सैनिक सामर्थ्यका आधारमा विश्वका १० शक्ति राष्ट्रलाई ‘सुपर पावर’ भनिएको छ । यस्तो शक्ति राष्ट्रको पहिलो सूचीमा अमेरिका छ । दोस्रोमा रसिया, तेस्रोमा चीन तथा चौथो शक्तिराष्ट्रका रूपमा छिमेकी भारत छ । पाँचौंदेखि दशौंसम्म क्रमशः बेलायत, फ्रान्स, जर्मनी, टर्की, दक्षिण कोरिया र जापान शक्तिशाली राष्ट्रको सूचीमा परेको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

 

अन्य मुलुकको तुलनामा नेपाल सैनिक सामर्थ्यका आधारले भौतिक पूर्वाधारमा पछि रहेको सो वेबसाइटले उल्लेख गरेको छ । नेपाली सेनासँग युद्धका बेला आवश्यक पर्ने युद्ध ट्याङ्क शुन्य छ । ‘सुपर पावर’ अमेरिकासँग युद्धट्याङ्क मात्रै ८ हजार तीन सय २५ छन् । त्यस्तै, दोस्रो र तेस्रो ठूलो शक्ति रसिया र चीनसँग युद्धट्याङ्क क्रमशः १५ हजार ५० र ९ हजार एक सय ५० छन् ।