१ चैत ,रत्ननगर (चितवन)। चितवनको विकट गाउँमा सञ्चालन गरिएको लघुजलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । खोलामा पानी सुकेपछि ती आयोजनाहरु बन्द हुन थालेका हुन् ।

 

मुख्यगरी विद्युत् नपुगेका क्षेत्रमा स्थानीयस्तरबाट लाखौँ रुपैयाँ सङ्कलन गरेर यहाँका विकट क्षेत्रमा लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो ।

अहिले भने खोलामा पानी सुकेकाले आयोजनाहरु बन्द हुन थालेको सिद्धी देउजर लघुजलविद्युत् आयोजना व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर प्रजाले बताउनुभयो ।

 

मुख्यगरी मुहान क्षेत्रमा वन जङ्गल संरक्षणको अभाव र विश्वव्यापी जलवायु परिवर्तनको असरका कारण पानी सुकेको संरक्षणकर्मीहरुको भनाइ छ । वृक्षरोपणमा जोड नदिए यसको असर अझै बढ्दै जाने उनीहरुको अनुमान छ ।

 

गत माघ महिनाबाटै पानी सुक्न थालेकाले आयोजना सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् । जसका कारण अहिले स्थानीयहरु पुनः पाँच वर्षअघिको जस्तै अन्धकारमै फर्किएका छन् ।

मुख्यगरी चितवनको विकट पहाडी गाविसमा यस्ता आयोजना सञ्चालन गरिएको थियो । दर्जन आयोजनामध्ये केही जेनतेन चलिरहेको भए पनि अधिकांश भने बन्द भइसकेको स्थानीय दलबहादुर प्रजाले बताउनुभयो ।

 

देउजरमा पाँच वर्षअघि आयोजना निर्माण गरिएको थियो । स्थानीय सामुदायकि वन, गाविस, जिल्ला विकास समितिको करिब रु १० लाख लागतमा यहाँ जलविद्युत् निकालिएको थियो ।

 

सुरुका केही वर्ष राम्रै सञ्ंचालन भएको र विद्यार्थी पढाउन पनि निकै सजिलो भएको स्थानीय विवीमायाँ चेपाङले बताउनुभयो । तर अहिले आयोजना बन्द भएपछि अन्धकारमै बस्नुपरेको छ । उक्त आयोजनाले एक गाउँका ३५ घरधुरीलाई सेवा दिँदै आएको थियो । देउजर खोलाको ३० मिटर माथिबाट चार इन्चको पानी खसालेर डाइनामो चलाइएको थियो । त्यसैबाट निस्किएको बिजुली गाउँलेले बाँडेका थिए । तर अहिले पानी सुकेपछि तीन महिनादेखि डाइनामो नचलेकाले खिया लागेर थन्किएको छ । रासस