४ चैत ,मैमाना (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी प्रान्त फार्याबमा मङ्गलबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा पनि १५ जना व्यक्तिको मृत्यु भएको समाचार छ । अफगानिस्तानमा आगामी केही समयपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनको तयारी जारी रहेका बेला भएको यस आत्मघाती हमलालाई सुरक्षामाथिको चुनौतीका रुपमा लिइएको छ ।

 

यस आक्रमणमा अन्य २७ जना सर्वसाधारण घाइते भएको प्रहरीसोतले जानकारी दिएको पनि समचारमा जनाइएको छ । मैमाना सहरमा स्थानीय समयअनुसार मङ्गलबार ८.४५ बजे सो आत्मघाती आक्रमण भएको जनाइएको छ । कम्तीमा १५ जना व्यक्तिको मृत्यु हुने गरी भएको  यस आक्रमण मोटरसाइकलमा आएका कयौं व्यक्तिले गराएका पनि बताइएको छ ।

 

यस आक्रमण के कति लक्ष्यबाट गरिएको हो भन्ने बारेमा भने प्रष्ट नभएको प्रहरीस्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ । यसअघि अफगान प्रहरीकै औपचारिक स्रोतले यस आक्रमणबाट कम्तीमा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका जनाएको थियो ।

 

तरपछि मारिने व्यक्तिको संख्या बढेको बताइएको छ । मारिनेमा सडकमा हिँडीरहेका सर्वसाधारण व्यक्ति परेका छन् । आक्रमणपछि सरकारी सैनिकले त्यस इलाकालाई तत्काल घेराबन्दी गरेको जनाइएको छ । विस्फोट भएको इलाकामा कयौँ पसल र सवारीसाधन समेत क्षतिग्रस्त भएको जनाइएको छ ।

 

     फर्याब प्रान्तका गभर्नरले सो आक्रामण आत्मघाती रहेको बताउँदै तर के कति कारणले सो हत्या गरिएको हो र त्यसमा को कसको संलग्नता छ भन्ने बारेमा भने केही पत्ता नलागेको पनि उहाँले जानकारी दिनुभयो ।

 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । रत प्रहरी र नेटो सैनिकले भने सो हमला अफगानिस्तानमा हिंसा मच्चाइरहेको तालिवान समूहले गरेको अनुनमान गरेको छ । रासस/ एएफपी