९ चैत,काठमाडौं ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिन्दू जागरण गौ रक्षा अभियानले नेपाललाई हिन्दूराष्ट्र नै घोषणा गर्न माग गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिन्दू जागरण गौ रक्षा अभियान अन्तरगत धार्मिक रथयात्रा आयोजक समितिले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले यस्तो माग गरेका हुन् ।

 

कार्यक्रममा राप्रपा नेपाल, नेपाली काँग्रेस तराईमधेश लोकतान्त्रिक पार्टीलगायत राजनीतिक दलका प्रतिनिधिहरुले विगतमा राजनीतिक दलहरुले भूलवश धर्मनिर्पेक्ष घोषणा गरे पनि अब त्यसलाई सुधार गर्ने उत्तम मौका आएको दावी गरे ।

 

आफू सम्बद्ध दलका केन्द्रीय नेताहरुलाई हिन्दू राष्ट्रका सम्बन्धमा पहल गर्ने पनि उनीहरुले बताएका छन् । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष डा. धवल शम्शेर राणाले ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा रातारात धर्मनिर्पेक्ष राष्ट्र घोषणा गर्दा कोही नेपाली पनि खुशी नरहेको बताए । अब हिन्दू राष्ट्र कायम गराउनका लागि संघर्षमा उत्रिनु पर्ने उनको भनाइ थियो ।

 

कार्यक्रममा व्यवस्थापन समितिका संयोजक चक्रदेव जोशी अखण्डले कुनै पनि मूल्य चुकाएर हिन्दू राष्ट्र फकाइने दावी गरे । आयोजक समितिका संयोजक तोयानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा तराईमधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विजयकुमार गुप्ता, राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन केसीलगायतले जनताको माग विना गरिएको निर्णय दलहरुले फिर्ता लिन सक्नु पर्ने बताएका थिए ।