१० चैत,काठमाडौं। संविधानसभा निर्वाचन प्रयोजनकालागि यसअघिको सरकारले ल्याएका अध्यादेश पारित गर्ने समय बुधवार सकिदै छ । बाधा अड्काउ फूकाउ मार्फत ल्याइएका अध्यादेश संसद बैठक बसेको ६० दिनभित्र अनुमोदन गरिसक्नु पर्ने संवैधानिक व्यबस्था छ ।

 

संसद बैठक बसेको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए ती अध्यादेश अनुसार भएका काम असंवैधानिक हुने संविधानविदहरु बताउछन् ।

 

यही मौका पारेर एमाओवादीले सरकार र सत्तारुढ दललाइ झुकाउने तयारी गरेको छ । प्रतिस्थापन बिधेयक पारितगर्न दुइ दिनको मात्र समय रहेको समयमा एकीकृत माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगको बिधेयक संसदमा ल्याउन पाँच दिने अल्टिमेटम दिइसकेको छ ।

शुक्रवार बसेको संसद बैठकमा माओवादी सभासद रामनारायण बिडारीले पाँचदिनभित्र विधेयक नल्याए सदनमा अबरोध गर्ने संकेत दिएका थिए ।

CA Nepal

प्रतिस्थापन विधेयक पारितगर्न व्यबस्थापिका संसदको बैठक सोमवार बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउसो २ बजे बस्ने बैठकमा शून्य र विशेष समयमा सभासदहरुले विभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।